२४ जेठ २०८३, आइतबार

जनता परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहन्छन्ः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

जनता परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहन्छन्ः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं, ३० चैत– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नव वर्ष, २०७५ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना दिएका छन् । 

शुभकामना सन्देशमा उनले वर्तमान समय बोलेर भन्दा पनि गरेर देखाउने समय भएको भन्दै जनताले  परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहेको बताएका छन् । 

विकास र समृद्धि शब्दको बुई चढेर नआउने हुँदा त्यसतर्फ एकलव्य भई लाग्नुपर्नेमा समेत रेग्मीले  जोड दिएका छन् । 

‘वर्तमान समय बोलेर भन्दा पनि गरेर देखाउने हो । जनता परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहन्छन्’ रेग्मीलेसन्देशमा भनेका छन्, ‘ विकास र समृद्धि शब्दको बुई चढेर नआउने हुँदा त्यसतर्फ एकलव्य भई लाग्नु अब सबै नेपाल र नेपालीहरुको अभिष्ट बन्नु पर्छ । तसर्थ, इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिबाट मात्र सफलता र समृद्धितर्फको यात्रा सिर्जनशील रुपमा अघि बढ्ने भएकाले नव वर्ष, २०७५ ले हामी सबैलाई यसतर्फ अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।’

नेपाली जनताले चाहना राखेको आफ्नो संविधान आफै बनाउने उत्कट अभिलाषा पूरा भइसकेको उल्लेख गर्दै रेग्मीले तीनै चरणको निर्वाचन समेत सम्पन्न भइसकेकाले अब  देश र जनताको चाहना शान्ति, स्थायित्व र समृद्धि भएको बताएका छन् । 

यसका लागि संविधानद्वारा प्रत्याभूत हक, अधिकार र विकासको प्रतिफल जनसाधारणलाई अनुभूत हुने गरी सबैको पहुँचमा पु¥याइएको अवस्थाको सुनिश्चितता हुनुवर्नेमा जोड दिँदै रेग्मीले भनेका छन्, ‘अन्यथा परिवर्तन र लोकतन्त्रको सारभूत पक्ष ओझेलमा पर्नेछ । लोकतन्त्रलाई धरापमा पर्न नदिन सुशासन, सेवामुखी प्रशासन, विकास र समस्त साधन स्रोतको न्यायोचित वितरण आजको अनिवार्य आवश्यकता बनेको छ ।‘

उनले जनअपेक्षा पूरा गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा समेत जोड दिएका छन् । 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश रेग्मीले नव वर्ष, २०७५ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशको पूर्णपाठ

विक्रम सम्वत् २०७५ साल शुभारम्भको यस विशेष दिनको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिकतापूर्वक शुभकामना व्यक्त गर्दछु ।
विगत लामो समयदेखि आर्थिक तथा सामाजिक परिवर्तन र रुपान्तरणमार्फत् सम्पूर्ण नेपाली मात्रको समृद्धिका लागि अनवरत प्रयत्नशील हामी आफ्नो सुखद भविष्यका लागि सँधै संघर्षरत रही आयौं । संघर्षकै फलस्वरप नेपाली जनताले चाहना राखेको आफ्नो संविधान आफै बनाउने उत्कट अभिलाषा पूरा भइसकेको छ । संविधान निर्माणमा सफलता हासिल भएसँगै संविधान कार्यान्वयनको लक्ष्यमा उन्मुख नेपाली समाजले संविधान कार्यान्वयनको महत्वपूर्ण कडीको रुपमा रहेका तीनै तहको निर्वाचन सम्पन्न गरी हाल जननिर्वाचित सरकार गठन भई क्रियाशील रहेको अवस्था पनि छ । यस विशेष ऐतिहासिक मोडमा देश र जनताले राखेको अहिलेको अपेक्षा शान्ति, स्थायित्व र समृद्धि हो । यसका लागि संविधानद्वारा प्रत्याभूत हक, अधिकार र विकासको प्रतिफल जनसाधारणलाई अनुभूत हुने गरी सबैको पहुँचमा पु¥याइएको अवस्थाको सुनिश्चितता हुनुपर्छ । अन्यथा परिवर्तन र लोकतन्त्रको सारभूत पक्ष ओझेलमा पर्नेछ । लोकतन्त्रलाई धरापमा पर्न नदिन सुशासन, सेवामुखी प्रशासन, विकास र समस्त साधन स्रोतको न्यायोचित वितरण आजको अनिवार्य आवश्यकता बनेको छ । अतः जनअपेक्षा पूरा गर्न सरकार गम्भीरतापूर्वक लाग्नेछ भन्ने कुरामा विश्वस्त हुनुको विकल्प छैन र सरकार पनि विकल्पहीन ढङ्गबाट अग्रसर हुनुबाट पन्छिन सक्ने अवस्था छैन । 
वर्तमान समय बोलेर भन्दा पनि गरेर देखाउने हो । जनता परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहन्छन् । विकास र समृद्धि शब्दको बुई चढेर नआउने हुँदा त्यसतर्फ एकलव्य भई लाग्नु अब सबै नेपाल र नेपालीहरुको अभिष्ट बन्नु पर्छ । तसर्थ, इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिबाट मात्र सफलता र समृद्धितर्फको यात्रा सिर्जनशील रुपमा अघि बढ्ने भएकाले नव वर्ष, २०७५ ले हामी सबैलाई यसतर्फ अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु । 
अन्त्यमा, नव वर्ष, २०७५ को प्रारम्भको यस विशेष दिनमा स्वदेश र विदेशमा रहनुभएका विभिन्न पेशा, वर्ग, क्षेत्र, धर्म, सम्प्रदाय, समूहमा आवद्ध समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।    

salt training

कमेन्ट गर्नुहोस्