
काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल–जापान मैत्रिपूर्ण जलजन्य प्रकोप न्युनीकरण संघ(एनएफएडी) का महासचिव टोसीओ मोरीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा नेपालको पहिरो नियन्त्रण र विपद व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
महासचिव मोरीसंगको भेटमा उर्जामन्त्री पुनले जापान र नेपालको बीचमा लामो समयदेखी मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै नेपालको विकासमा जापानले निःस्वार्थ गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले आगामी दिनमा समेत जापानसंगको सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरेका थिए ।
भेटमा सेण्डाई फ्रेमवर्क २०१५ बारे छलफल हुनुका साथै नेपालमा प्रत्येक वर्ष बाढी र पहिरोका कारण हुने धनजनको क्षतीलाई कम गर्ने उपायका बारेमा समेत छलफल भएको थियो ।
उर्जामन्त्री पुनसंगको भेटमा महासचिव मोरीले पहिरो आउनुभन्दा पहिले जानकारी दिने प्रविधि भित्र्याउनुपर्नेमा जोड दिएका थिए । उनले पहिरो नियन्त्रणका लागी सहयोग गर्न आफुहरु तयार रहेको भन्दै त्यसका लागी पहिरो प्रकोप सेन्टर स्थापना गर्न मन्त्री पुनलाई सुझाव दिएका थिए ।
जवाफमा मन्त्री पुनले पहिरो प्रकोप सेन्टर स्थापनाबारे आफु सकरात्मक रहेको भन्दै त्यसका लागी सम्बन्धीत निकायसंग छलफल गरेर छिट्टै सरकारले निर्णय गर्ने बताएका थिए ।