
विराटनगर, ४ वैशाख –विराटनगरमा रहेको भारतीय दूतावास सम्पर्क कार्यालयलाई लक्षित गर्दै बम विस्फोट भएको १२ घण्टा बित्न नपाउँदै राजमार्गमा फेरि अर्को बम फेला परेको छ ।
सम्पर्क कार्यालय लक्षित बम विस्फोट भएको १२ घण्टा नवित्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दर हरैचा नगरपालिकाको गछियामा मंगलबार बिहान बम फेला परेको हो ।
उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ । नेपाली सेनाको थलाहा ब्यारेकबाट पुगेको टोलीले अहिले डिस्पोजको प्रयास जारी राखेको छ। राजमार्गको पुलमा बम राखिएपछि अहिले सो क्षेत्रमा सवारीसाधन आवागमन अबरुद्ध बनेको छ ।
यता सोमबार साँझ भारतीय दूतावास सम्पर्क कार्यालयमा भएको बम विस्फोट पछि आज बिहानैदेखि घटनास्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ जोगवनी–विराटनगरको मुख्य सडकमा रहेको सम्पर्क कार्यालयलाई लक्षित गरि बिस्फोट भएको थियो ।
विस्फोटका कारण कार्यालयको पछाडीको पर्खालमा सामान्य क्षति पुगेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले लोकान्तरलाई जानकारी दिए ।
उक्त बम प्रेसरकुकर बम रहेको प्रहरीले आशंका गरेको छ । यस्तै सम्पर्क कार्यालयमा वम प्रहार गरेको आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मोरङका प्रहरी उपरीक्षक बिसीले जानकारी दिए । तर प्रहरीले पक्राउ पर्नेहरुको विवरण खुलाएको छैन ।
यसैबीच जिल्लाका सुरक्षा अधिकारीहरु सहितको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य सहित सुरक्षा अधिकारीहरु घटनास्थल पुगेका हुन् ।