
काठमाडौँ, ५ बैशाख-पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।
बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिएको छ । यसअघि २२ चैतमा बसेको एकता संयोजन समिति बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको थियो । दुई अध्यक्ष बसेर सहमति निकालेपछि समितिको अर्को बैठक बसेर एकता घोषणा मिति सार्वजनिक गरिने बैठकपछि नेताहरूले बताए ।
प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि बैठक बसेर विवादित विषय टुंग्याउने भने पनि पटक–पटक बैठक स्थगित हुँदै आए । दुवै अध्यक्ष कार्य व्यस्तता देखाउँदै अन्य कार्यक्रमहरूमा सक्रिय हुँदा बैठक बस्न सकेको थिएन । २२ चैतपछि पहिलोपटक मंगलबार बैठक बसेको हो ।