
जाजरकोट, ५ वैशाख– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दुई अध्यक्षले कार्यदलको प्रतिवेदन अध्ययन गर्न नभ्याएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतामा ढिलाइ भएको बताएका छन् ।
माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री बस्नेतले बुधबार गृहजिल्ला जाजरकोटमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पार्टी एकताका लागि गठित दुई कार्यदलको प्रतिवेदन मोटो आयो, प्रधानमन्त्रीको भारत भ्रमण पनि यही बीचमा परेकाले दुई अध्यक्षले प्रतिवेदन अध्ययन गर्न भ्याउनुभएन, त्यसैले एकतामा ढिलाइ भएको हो ।’
दुई पार्टीबीच छिट्टै र सम्मानजनक एकता हुने उनको भनाइ छ । ‘विगतमा विभिन्न समूह एमाले र माओवादीमा बिलय भए, यो त्यस्तो बिलय होइन, न त एमाले माओवादीमा बिलय हुन लागेको हो, न माओवादी एमालेमा नै, यो त दुई पार्टीबीचको एकता हो,’ मन्त्री बस्नेतले भने, ‘छिट्टै सम्मानजनक एकता हुन्छ ।’
एमाले र माओवादी लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनका दुई धारको रूपमा रहेको उनको भनाइ छ । ‘यी लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनका दुई धार हुन्, हामी सशस्त्र संघर्षबाट आयौं, उहाँहरू संसदीय संघर्षबाट, हामीले एकअर्काले अपनाएको बाटोलाई गलत भन्थ्यौं,’ मन्त्री बस्नेतले भने, ‘समय र परिस्थितिले हामीलाई एक ठाउँमा ल्याइदियो, अब पहिलेको बाटो गलत थियो भनेर एकता सम्भव हुँदैन, दुवैले एकअर्काको अस्तित्व स्वीकार्नुपर्छ, मिलिसकेको विषयमा बहस गर्नु आवश्यक छैन ।’
दुवै पार्टीले एकअर्काको आवश्यकता बोध र सहअस्तित्व स्वीकार गरेर नै एकता हुन लागेको उनको भनाइ छ ।