०२ असार २०८३, मंगलबार

एमाले–माओवादीका कार्यकर्ता नै मनोज पुनका सहयाेगी, रुपन्देहीबाट ५ जना पक्राउ

बैशाख ५, २०७५
एमाले–माओवादीका कार्यकर्ता नै मनोज पुनका सहयाेगी, रुपन्देहीबाट ५ जना पक्राउ

बुटवल, ५ वैशाख– केही समय अगाडि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता नै रहेको खुलासा भएको छ । पुनका ५ जना विशेष सहयोगीहरु पक्राउ परेका छन् । 

पक्राउ परेकाहरु एमाले र माओवादी कार्यकर्ता रहेको बुझिएको छ । पक्राउ पर्नेमा बुटवल–७ शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का र स्याङजा पुतलीबजार–४ घर भई हाल बुटवल–४ बस्ने हरिप्रसाद श्रेष्ठ छन् । 

उनीहरूलाई पक्राउ गरेसँगै ‘डन’ मनोज पुनलाई सघाउनेमा राजनीतिक दलका नेता÷ कार्यकता र व्यवसायी नैं रहेको खुलासा भएको हो । 

पक्राउ परेका लेखनाथ माओवादी केन्द्रका नेता हुन । त्यस्तै आचार्य युवा संघका पूर्व नेता हुन् । श्रेष्ठ मदिरा उद्योगी हुन् । श्रेष्ठको मोहनी हाइजिन नाम गरेको उद्योग छ । 

इलाका प्रहरी कार्यालय, बुटवलमा बुधबार उनीहरूलाई सार्वजनिक गर्दै रूपन्देहीका प्रहरी प्रमुख (एसपी) श्याम ज्ञवालीले गुण्डा नाइके मनोज पुनको विशेष सहयोगीको रूपमा काम गरेको प्रमाण फेला परेपछि उनीहरू पाँचै जनालाई रूपन्देहीबाट पक्राउ गरिएको बताए । 

उनीहरूलाई बुटवल र देवदह आसपासको क्षेत्रमा प्रहरीले मंगलवार पक्राउ गरेको हो । ‘राजनीति गर्ने नेता÷कार्यकताले नैं मनोज पुनलाई सहयोग गर्ने गरेको देखियो,’ ज्ञवालीले भने । उनीहरू पाँचै जनाले ‘डन’ पुनलाई आर्थिक रूपमा समेत निरन्तर सहयोग गरेको प्रमाण फेला पारेको प्रहरीको दावी छ । 

‘२०७२ कात्तिक २२ गते बुटवलका नारायणबाबु बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योगमा संलग्न रहेको पनि देखियो,’ ज्ञवालीले भने, ‘त्यस्तै २०७२ पुस ६ गते युवा संघ रुपन्देहीका कार्यबहाक अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको घटना, २०७४ पुस २१ गते एमाले कार्यकता तथा व्यवसायी बलु पौडेललाई गोली हानी हत्या गर्ने मनोज पुन र बिट्टु भनिने योगेन्द्र सिंहसँग निरन्तर सम्पर्कमा रहेको पाँचै जनाले काम गरेको प्रमाण भेटियो ।’ 

प्रहरी उपरीक्षक ज्ञवालीले थपे, ‘उनीहरुले मनोज पुनलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेको समेत प्रमाण फेला पर्यो । उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको छ ।’  

मनोज पुन र उनका विशेष सहयोग सोम आले प्रहरीको इन्काउन्टरमा गएको फागुन ९ गते रूपन्देहीको देवदहमा मारिएका थिए । पुन र उनका सहयोगीको मृत्यु भएपछि रूपन्देहीका उद्योगी÷व्यसायीहरूले राहतको महशुस गरेका थिए । लगत्तै प्रहरीले मनोज पुनसँग जोडिएको भन्दै एमाले र माओवादीको नेता÷कार्यकता समेत संलग्न भएको भेटिएपछि रूपन्देहीमा तरंग आएको छ । 

तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई जेल चलान भइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्