०१ असार २०८३, सोमबार

मुख्य समाचार : यातायात सिन्डिकेटविरुद्ध सरकारको कडा कदम–समिति खारेजदेखि बैंक खाता रोक्कासम्म

मुख्य समाचार : यातायात सिन्डिकेटविरुद्ध सरकारको कडा कदम–समिति खारेजदेखि बैंक खाता रोक्कासम्म

काठमाडौं, ६ वैशाख– यातायात व्यवसायीले सिन्डिकेटका पक्षमा आन्दोलन घोषणा गरेपछि सरकारले पनि कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन गरी सडक अवरोधलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । 

अत्यावश्यक सेवामा बन्देज लगाउने जुनसुकै व्यवसायीलाई कानुनको दायरामा ल्याइने गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताए । आन्दोलनका कार्यक्रम घोषणा गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले त्यसविरुद्ध राज्यका सुरक्षा अंग परिचालन हुने चेतावनी दिए । 

सिन्डिकेट खारेज गरेको विरोधमा बुधबार महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

३०५ यातायात समिति नरहने– सरकारले संघ संस्था दर्ता ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भई एकाधिकारको व्यापार गरिरहेका ३०५ यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको छ । कम्पनी ऐन अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने यातायात समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सामाजिक संस्थाका रुपमा एकाधिकारको व्यापार लाद्दै आएका थिए । यस्ता संस्था साउनदेखि नवीकरण नगर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । 

बैंक खाता रोक्का– सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । 

सरकारले यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ । यसका लागि प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने स्रोतले बताएको छ । 

देशभर जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएर व्यवसायिक रुपमा कारोबार गर्ने झण्डै साढे ३ सय यातायात समितिको विवरण यातायात व्यवस्था विभागले प्रधानमन्त्री कार्यालयमा बुझाएको छ । विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

सर्वोच्चको निर्देशन– सर्वोच्च अदालतले न्यायालयको फैसला नक्कली बनाउने काम तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बुधबार पत्रकार सम्मेलन गरी अदालतजस्तो संवेदनशील निकायको फैसला र कागजातहरु नक्कली बनाउने काम तत्काल रोकी त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएको हो ।

न्यायाधीशको नाम, हस्ताक्षर, थुनाका व्यक्ति छुटाउने पत्र पनि नक्कली नै बनाएको विषय निकै गम्भीर भएको भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन पनि सर्वोच्चले सरोकारवालाहरुलाई आग्रह गरेको छ । यस्ता विषय न्यायपालिकाका लागि गम्भीर र अक्षम्य अपराध भएकोसमेत सर्वोच्चले जनाएको छ ।

विद्युत्का कर्मचारी घुससहित पक्राउ– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् । थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले महोत्तरीको जलेश्वर–२ स्थित मीनाबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगका शाखा अधिकृत प्रकाश थापाले जानकारी दिए । 


२६ कानून राजपत्रमा प्रकाशित– बुटवल उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधि र निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणीकरण भएका २६ वटा कानून राजपत्रमा प्रकाशन गरी बुधबार सार्वजनिक गरे । 

कार्य सम्पादन नियमावली–२०७४, नगरसभा सञ्चालन कार्यविधि–२०७४, निर्माण व्यवसाय ऐन–२०७४, न्यायिक कार्यविधि–२०७४, फोहोरमैला व्यवस्थापन ऐन–२०७४ लगायत छन् । 

नीति तथा कार्यक्रम पारित– प्रदेश नं ४ को बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।     सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत गरेका थिए । 

नीति तथा कार्यक्रम विशेषगरी आगामी तीन महिनाका लागि लक्षित रहेको छ । 


विनियोजन विधेयक पारित– प्रदेश नं १ को ‘विनियोजन विधेयक २०७४’ सर्वसम्मतले  पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो । 

विधेयक पारित भएसँगै प्रदेश सरकारलाई सञ्चित कोषबाट चालु आवका लागि विभिन्न निकाय, मन्त्रालय तथा सचिवालयले गर्ने सेवा र कार्यको खर्च गर्ने अधिकार प्राप्त भएको छ । 

काँग्रेस सचेतकमा भुसाल– नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनित भएकी छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई बुधबार सचेतकमा मनोनयन गरेका हुन् । 

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो । 

वायु प्रदुषण एसियाकै उच्च– दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ । हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ ।

जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुने गरेको छ । यो दक्षिण एसियाकै उच्च हो । 


नेप्सेमा ३२ अंकको वृद्धि– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार ३१.८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ । दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

नेप्सेकाअनुसार १० वटै उपसमूहमा कारोबार रकम अधिकरुपमा बढेको छ । बुधबार १६५ कम्पनीमध्ये १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

नेपालमा समूह ‘ए’मा– आगामी सेप्टेम्बरमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसहित समूह ‘ए’मा परेको छ । बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरिएको ‘ड्र’अनुसार समूह ‘ए’मा नेपाल र आयोजक बंगलादेशसहित पाकिस्तान र भुटान रहेका छन् । यस्तै, समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्