
काठमाडौं, ६ वैशाख– सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कानूनी व्यवस्थालाई निजीस्तरको सुर्ती उत्पादक कम्पनी सूर्य टोबाकोले बेवास्ता गर्दै आएको छ ।
मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न भन्दै सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ संशोधन गरी २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका बनायो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ मा सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने तथा अंकित गर्नुपर्ने व्यवस्था गरियो । २०७१ को निर्देशिकामा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था परिमार्जन गरी ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याइयो ।

निर्देशिका अनरूप सुर्ती उद्योगहरुले २०७२ जेठ १ गतेदेखि बजारमा पठाउने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र अंकित सन्देश हुनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुरूप स्वास्थ्य मन्त्रालयले २०७३ साल आसर २६ गते अर्थ मन्त्रालयलाई सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत चित्र सहितको चेतावनीमूलक संकेत नभएको वस्तुमा अन्तःशुल्क नलगाउने व्यवस्था गर्न पत्र पठाएको थियो ।

यस्तै आन्तरिक राजस्व विभागलाई पनि ९० प्रतिशत चेतावनीमूलक संकेत नभएको वस्तुमा अन्तःशुल्क स्टीकर नलगाउन २०७३ सालमा पत्र पठाएको थियो ।
नेपालका सबै सुर्ती उद्योगहरुलाई स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सञ्चार केन्द्रले निर्देशिका बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थले पुर्याउने घातक क्षेतिको चित्र छाप्न तथा अंकित गर्न पटक पटक सार्वजनिक सूचना प्रशासन गरी उद्योग मन्त्रालयमार्फत सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुलाई पत्र पठाएको थियो ।

सरकारले ऐन र निर्देशिकामा भएको व्यवस्था अनुरूप सबै कम्पनीलाई पत्र पठाएको भएपनि सूर्य टोबाको कम्पनीले भने सरकारको निर्देशनलाई अटेर गर्दै आएको छ । निर्देशिका बनेको ३ वर्ष भइसक्दा पनि सूर्य टोबाको नामक चुरोट कम्पनीले सरकारले बनाएको कानूनलाई वेवास्ता गर्दै आएको छ ।
सूर्य टोबाको कम्पनीले आफूले उत्पादन गर्ने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश नपछापेपछि स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा संचार केन्द्रले उद्योग मन्त्रालय मार्फत २०७४ माघ ३ गते सूर्य टोबाको कम्पनीको नामै तोकेर नियम पालना गर्न पत्र पठाएको थियो ।
करीब ८० प्रतिशत चुरोटको बजार ओगटेको सूर्य टोबाकोले आफूले उत्पादन गर्ने सूर्य चुरोटको बट्टामा ९० प्रतिशत चेतावनीमूलक सन्देश सहितको रंगित चित्र अंकित नगरेरै आफ्ना उत्पादनहरू बजारमा पठाइरहेको छ ।
सरकारले बनाएको कानूनलाई टेकेर खुलेआम गैरकानूनी रुपमा सूर्य टोबाकोले चुरोट उत्पादन गरिरहँदा पनि सरकारी निकाय मौन छ ।
सरकारले चाहेमा उक्त कम्पनीलाई तत्काल कारवाही गर्न सकिने सरोकारवालाहरु बताउँछन् । सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि अभियान सञ्चालन गर्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द्रले सरकारले कानूनको पालना नगर्ने सूर्य कोबाकोलाई कारवाही गर्न अग्रसरता नदेखाएको बताए ।
‘कानूनको पालना गर्ने उद्योगलाई कारवाही गर्ने सरकारलाई अघिकार छ,’ उनले लोकान्तरसँग भने, ‘उद्योग र स्वास्थ्य मन्त्रालयले चाहेमा कानूनतः अन्तःशुल्क स्टिकर रोक्न र गैरकानूनी रुपमा उत्पादन भएका सुर्तीजन्य पदार्थ जफत गर्न सक्छ ।’
सूर्य टोबाकोलाई नियम पालना गर्न पटक–पटक निर्देशन दिइए पनि अटेर गर्दै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठको भनाइ छ ।
उनले भने, ‘हामीले पटक–पटक भनेका छौं । सूर्य टोबाको कम्पनीले ९० प्रतिशत चेतावनीमूलक सन्देश अंकित चित्र छापेको छैन, यसविषयमा अन्य निकायहरूसँग पनि छलफल गर्ने तयारी गरेका छौं ।’