
लागोस, नाइजेरिया, १२ वैशाख - नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरूले चर्चमा आक्रमण गरेका र उनीहरू मारिएका जानकारी दिए । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याउनु भएको उनले बताए ।
फुलानी समुदायका गोठालाहरूको आक्रमणबाट उनीहरूको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उनी विदा छोट्याएर फर्किएका हुन् ।
घटनामा परी मृत्यु हुनेमा दुईजना क्याथोलिक पुजारी र अरु ११ जना पूजामा संलग्न भक्तजनहरू रहेका अधिकारीहरूले बताएका छन् ।
सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक पारिसमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् । बिहान सबेरै प्रार्थना भइरहेका बेला आक्रमणकारीहरूले चर्चमा एकाएक आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले प्रहरी र पत्रकारलाई दिएको जानकारीअनुसार स्थानीय समयानुसार बिहान पाँच बजे आक्रमणको घटना भएको थियो ।
राष्ट्रपति मोहम्मद बुहारीले बेन्युको घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि टिप्पणी गरेका थिए ।