२४ जेठ २०८३, आइतबार

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- प्रचण्ड

बैशाख १२, २०७५
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- प्रचण्ड

चितवन, १२ वैशाख-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् ।

नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई बुधबार भरतपुरमा सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए । 

अध्यक्ष दाहालले भने, “मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपाइँहरू एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरूको विकास पूर्ण हुनेवाला छैन ।” 

अध्यक्ष दाहालले छिमेकी दुई देशको विकासको पूर्णताका लागि पनि नेपाल सबैभन्दा बढी लाभान्वित हुनुपर्ने बताए । पछिल्लो समय दुबै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको उनले बताए । 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले आम नेपालीलले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताए । आठ/दश वर्षमात्रै देशको विकास र सुशासनतिर केन्द्रीत भएर लाग्न सक्यो भने सबैलाई उछिन्ने सम्भावना रहेको दाहालले बताए । 

७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको भन्दै उनले स्थिरताको सम्भावना मात्रै होइन जगसमेत बसिसकेको बताए । संवैधानिक रुपले, राजनीतिक रुपले, हरेक दृष्ट्रिकोणले नेपालमा अब स्थिरता कायम भएको उनले बताए । उनले भने, “कसैलाई कुनै पनि प्रकारको अतिवादतिर जाने अब कुनै ठाउँ छैन, सबै मूलधारतर्फ केन्द्रित हुनुपर्छ”। 

कार्यक्रममा उनले शिक्षा स्वास्थ्य र रोजगारी जनताको नैसर्गिक अधिकार भएको भन्दै सरकारले यसलाई विशेष जोड दिने बताए । नेपाल नेत्रज्योति संघले स्वास्थ्य, शिक्षासँगै अनुसन्धानात्मक काम गरिरहेको भन्दै उनले प्रशंसा गरे ।

salt training

कमेन्ट गर्नुहोस्