
काठमाडौं, १२ वैशाख- इण्डियन प्रिमियर लिग (आईपीएल) टीम दिल्ली डेयर डेभिल्सको कप्तान फेरिएका छन् ।
दुई पटकका आईपीएल विजेता (कोलकत्ता नाइट राइडरका लागि) कप्तान गौतम गम्भीरले राजीनामा दिएपछि टीमको नेतृत्व युवा ब्याट्सम्यान श्रेयस अय्यरको काँधमा आएको छ ।
दिल्लीले लिग चरणमा खेलिने कुल १४ मध्ये ६ खेल खेलिसकेको छ । जसमा १ खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुच्छारमा छ।
अब अर्को एक खेलमात्र हार्ने हो भने पनि दिल्लीको प्लेअफमा पुग्ने सम्भावना लगभग सकिन्छ ।
आईपीएलमा यही स्तरको खराब शुरुवात सकारात्मक नतिजामा समापन भएको इतिहास पनि छ । शुरुवाती ५ खेल गुमाएको मुम्बइ इण्डियन्सले त्यसपछिका खेलहरू लगातार जित्दै आईपीएलको उपाधि चुमेको थियो । त्यो एक हिसाबले चमत्कार भन्दा कम थिएन ।
त्यस्तै चामत्कारिक प्रदर्शनले मात्र दिल्लीलाई प्रतियोगितामा फर्काउन सक्ने स्थितिमा गम्भीरले राजीनामा दिएका छन् । व्यक्तिगत प्रदर्शनका हिसाबले अब्बल अय्यरले अब आफ्नो प्रदर्शनलाई निरन्तरता दिने मात्र होइन, सम्पूर्ण टीमको नेतृत्व पनि सम्हाल्नु पर्नेछ ।
दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि आवद्ध छन् । तर उनले अहिलेसम्म प्रतियोगितामा डेब्यु गर्न पाएका छैनन् ।
के गम्भीरको राजीनामा र युवाको काँधमा आएको नेतृत्वले सन्दीपको सम्भावना बढ्छ त ? कप्तान फेरिनुले सन्दीपको सम्भावना बढ्ने देखिँदैन । जारी सिजन खराब प्रदर्शन गरिरहेका गम्भीरलाई अब दिल्लीले बेञ्चमा राख्न त सक्छ, तर उनलाई प्रतिस्थापन गर्ने विकल्प सन्दीप होइनन् । त्यसैले सन्दीपको सम्भावना पहिले जति थियो, अहिले पनि त्यतिमै सीमित छ ।
तर आशा गर्ने ठाउँ भने पछाडि छ । दिल्लीले विदेशी खेलाडीका ४ कोटामध्ये तेस्रोमा कहिले क्रिस मोरिस त कहिले ड्यानियल क्रिस्टियनलाई खेलाइरहेको छ । तर दुवैले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । उनीहरूको खराब प्रदर्शन मात्र सन्दीपलाई टीममा ल्याउन पर्याप्त हुँदैन, किनकी त्यो भनेको अलराउण्डर भूमिका हो ।
अर्कोतर्फ दिल्लीका लेग स्पीनरद्वय अमित मिश्रा र शहवाज नदीमले टीममा प्रभाव जमाउन सकेका छैनन् । मिश्राको प्रदर्शन निकै खराब छ भने, नदीमले औसत खेल देखाएका छन् ।
यस्तो अवस्थामा कुनै भारतीय खेलाडीले मोरिस र क्रिस्टियनले बाँड्दै आएको अलराउण्डरको भूमिकालाई प्रतिस्थापन गर्ने हो भने कहिले मिश्रा त कहिले नदीमले खेल्दै आएको पोजिसनमा सन्दीपलाई मौका हुनसक्छ । आशा गर्ने ठाउँ यही हो ।
सन्दीप प्लेइङ ११ मा पर्नु र नपर्नुमा कप्तान परिवर्तनले तात्विक असर पर्ने देखिँदैन ।