
काठमाडौँ, १४ बैशाख- नेपालको राजकीय भ्रमणमा आउने दिन नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को छिमेकी राष्ट्र चीन भ्रमणमा निस्किएका छन् । चीनको हुपै प्रान्तको उ हान सहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शुक्रबार उनको औपचारिक भेटवार्ता हुँदै छ । मोदी र सीबीच नवौंपटक भेटवार्ता हुन लागेको हो ।
सन् २०१५ मे १५ मा चीन र भारतले सहमतिबिनै लिपु भञ्ज्याङ भएर नाका खोल्ने सम्झौता गरेपछि झस्किएको नेपालले मोदी–सी भेटलाई चासोका साथ हेरिरहेको छ । दुईदिने चीन भ्रमणबाट फर्केको ११ दिनपछि मोदी काठमाडौं आउँदै छन् । तिब्बती शरणार्थीका विषयमा भारत चीनका पक्षमा देखिँदै गर्दा मोदीको भ्रमण भएको हो । नेपालमा रहने र हुने गरेको तिब्बती गतिविधिको विषय त्यहाँ उठ्न सक्ने आकलन नेपाली कूटनीतिज्ञले गरेका छन्, कान्तिपुरमा खबर छ ।