
धनगढी, १४ वैशाख- धनगढी उपमहानगरपालिका–५ हसनपुरका एक नव दम्पतिले आफ्नो विवाहको खर्च कटौती गरी विद्यालयलाई सहयोग गरेका छन् ।
धनगढी उपमहानगरकी उपमेयर सुशिला मिश्र भट्टका छोरा सौनक र बुहारी मञ्जु लामिछानेले विवाहको खर्च कटाएर विद्यालयलाई रकम सहयोग गरेका हुन् । उनीहरुले धनगढीको हसनपुरस्थित पञ्चोदय माध्यमिक विद्यालयलाई एक लाख ५० हजार रकम सहयोग गरेका छन् ।
सौनकले काठमाण्डौंमा मञ्जुसँग गत बैशाख ५ गते विवाह गरेका थिए ।
सौनकले आफूहरु ठुलो भव्य कार्यक्रम नगरी विवाह नगरेर विवाहमा लाग्ने रकमलाई कटौती गरी विद्यालयमा रहेका गरिव, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न सो रकम सहयोग गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद भट्टलाई सौनकले एक लाख ५० हजारको चेक हष्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै सौनकले भने ‘आमा–बुवाको प्ररेणा र सुझावले सामाजिक कार्यमा अग्रसर बनायो ।’ उनले विद्यालयमा रकम सहयोग गरेसंगै सामाजिक कार्यको सुरुवात भएको पनि बताए । विद्यालयका प्राधानाध्यापक पदम कु“वरले दम्पतीले प्रदान गरेको सहयोग रकमलाई मुद्धती खातामा राखेर आएको ब्याजबाट कक्षा ११ र १२ मा पढ्ने जहेन्दार, गरिव छात्र÷छात्रालाई छात्रवृति प्रदान गरिने जनाए ।