०८ असार २०८३, सोमबार

वाम गठबन्धनको घोषणापत्रबमोजिम राष्ट्रपतिले नीति तथा कार्यक्रमको तयारी

बैशाख १५, २०७५
वाम गठबन्धनको घोषणापत्रबमोजिम राष्ट्रपतिले नीति तथा कार्यक्रमको तयारी

 काठमाडौं,१५ बैशाख- राष्ट्रपति विद्यादेवी भण्डारीले १ जेठमा सरकारले तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन् । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उनले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् । सरकारले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले चुनावमा तयार पारेको घोषणापत्रअनुसार नीति कार्यक्रम तयार पारिरहेको छ ।

बैठकमा आगामी १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका संसद् सचिवालयले तयार गरेको छ । नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भए पनि छलफल छुट्टाछुट्टै हुने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ । बजेट आउनुभन्दा कम्तीमा १५ दिनअघि सरकारको नीति तथा कार्यक्रम ल्याई छलफलसहित बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले आगामी २३ वैशाखमा संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरिसकेको छ । सरकारको सिफारिसअनुसार अधिवेशन आह्वान गर्ने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमाले नेता वामदेव गौतमको समितिले सिफारिस गरेअनुसार सरकारले त्यसमा केही हेरफेर मात्रै गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । समृद्धिका लागि भन्दै गठबन्धनका तर्फबाट गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्