११ असार २०८३, बिहीबार

राजमार्गको एक ‘अपवाद’ होटल : प्रचण्ड, बाबुरामदेखि रामचन्द्रसम्म ग्राहक

बैशाख १५, २०७५
राजमार्गको एक ‘अपवाद’ होटल : प्रचण्ड, बाबुरामदेखि रामचन्द्रसम्म ग्राहक

सुशील पन्त

काठमाडौं, १५ वैशाख–राजमार्गको होटल भन्नासाथ दिमागमा आउँछ, ‘गुणस्तरहीन तथा बासी परिकार, फोहोर भान्छा, गुणस्तरको तुलनामा निकै महङ्गो शुल्क....’ आदि । त्यसैले कतिपय यात्रु राजमार्गका होटलमा झट्ट पस्न रुचाउँदैनन् ।

तर पृथ्वी राजमार्गको आँबुखैरेनीबाट केही अगाडि तनहुँको बारादीस्थित राजमार्गमा एउटा होटल छ, जुन राजमार्गका औसत होटलभन्दा फरक रहेको अनुभूति हुन्छ । बारिहबाट झट्ट हेर्दा राजमार्ग छेउका अन्य होटल जस्तै छ, तर भित्र प्रवेश गर्दा केही फरक महसुस हुन्छ । खानाको परिकार पनि अलि बेग्लै ।

ढोकाबाट भित्र पस्नेवित्तीकै सबैको नजर एउटा तस्वीरमा पर्छ, जसमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नायिका गरिमा पन्तलाई अवार्ड दिँदै गरेको देख्न सकिन्छ । हो, उनै गरिमा पन्तका दाजु मनुराजाले सञ्चालन गरेका छन्, ‘अ गरिमा क्याफे एण्ड मनुराजा मर्स्याङ्दी फेमिली रेष्टूरेन्ट ।’

.................

तनहुँका मनुराजा पन्तले युरोपेली मुलुक साइप्रसमा होटल व्यवस्थापन (हस्पिटालिटी) को अध्ययन गरेर झण्डै एक दशक उतै बिताए । कमाइ राम्रै थियो, तर मनुराजालाई स्वदेश फर्कन मन लाग्यो । उनले आफ्नै पुख्र्यौली थलोमा आएर होटल शुरु गरे । ‘विदेशमा आफूले सिकेको सीपलाई सदुपयोग गरौं भनेर यही पेशा अँगालें,’ उनी भन्छन् ।

मनुराजाको होटल छेउछाउ कुनै ठूलो बजार छैन, न त अन्य ठाउँमा जस्तो बाक्ला होटल । तर ग्राहकको कमी छैन । पोखराबाट चितवनसम्ममा ग्राहक आउँछन् । बिहान सबेरैदेखि मध्यरातसम्म आफैँ खटिएका हुन्छन्, मनुराजा । ग्राहकसँग हँसिलो व्यवहार, होटलको ढोका कहिल्यै बन्द हुँदैन र चोरीको समस्या पनि छैन । ‘नेगेटिभ भाइब्स भएको व्यक्ति मेरो कम्पाउण्डभित्र छिर्नै सक्दैन,’ आध्यात्मिक स्वभावका मनुराजा भन्छन्, ‘कहिलेकाहीँ मेरा ग्राहक आएर रातिमा ड्रिङ्क्स गरेर जान्छन्, पछि आएर पैसा दिन्छन् ।’ झण्डै–झण्डै विदेशकै जस्तो छ वातावरण छ ।

बिहान होटलभित्रै शारीरिक व्यायाम गरेर उनी मर्स्याङ्दी नदी किनाराको अकेलादेवी मन्दिरको दर्शन गरी दिनको शुरुवात गर्छन् । राति २ बजेसम्म पनि उनी व्यस्त देखिन्छन्, दुई सहयोगीको साथमा ।

प्रचण्डदेखि बाबुरामसम्म ग्राहक

१२ वर्षसम्म युरोपको होटलमा काम गरेका मनुराजाको होटलमा सरसफाइको कमी छैन । होटलको बाहिरपट्टि लोकल कुखुराका भाले बासिरहेका हुन्छन् । ग्राहकले छानेर खान सक्छन्, साथमा मर्स्याङ्दी नदीका माछा ।

लोकल भनेर ‘गिरिराज’ कुखुरा काटेर ग्राहक झुक्याउनेको बिगबिगी रहेको समयमा मनुराजाले भने त्यसो गर्दैनन् । ‘मेरा ग्राहक स्पेसिफिक भएकाले सकेसम्म अग्र्यानिक खाना खुवाउँछु, गिरिराजलाई लोकन भनेर बेचेर कमाएको पैसाले के सन्तुष्टि दिन्छ ?’ उनी भन्छन् । बरु ग्राहक फर्किन्छन्, तर झुक्किनु पर्दैन । मर्स्याङ्दीको भनेर चितवनको माछा उनी बेच्दैनन् ।

नियमित ग्राहकले खानाका लागि अग्रिम जानकारी दिएका हुन्छन्, त्यसैले भोकै फर्किनु पर्दैन । ‘कोही नयाँ ग्राहक आयो भने भान्सामा खाना बसालेर साग टिप्न बारीमा जान्छु,’ उनले भने ।

मनुराजाको होटलको ख्यातीका कारण त्यस्तै नामका नक्कली होटल खोल्न शुरु गरेका छन्, तर त्यसबाट उनलाई केही प्रवाह छैन । पृथ्वी राजमार्ग भएर हिँड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसम्म मनुको होटलका ग्राहक हुन् । सभामुख कृष्णबहादुर महरादेखि कांग्रेसनेता रामचन्द्र पौडेससम्मले मनुको होटलको स्वाद चाखिसकेका छन् ।

‘प्रचण्डज्यूले मर्स्याङ्दीको माछा र अरिङ्गाल खुब रुचाउनु हुँदोरहेछ । नदीको लोकल माछामा हिलोको बास्ना आउँछ,’ उनले लोकान्तरसँग भने, ‘डा बाबुराम भट्टराईले यहीँ बसेर पालुङटार औद्योगिक क्षेत्रको नक्सा कोर्नुभएको थियो ।’ पुत्र प्रकाशको निधन भएपछि भने प्रचण्ड त्यो बाटो हिँडेका रहेनछन् ।

लोकल कुखुराको भालेको मासु, मर्स्याङ्दीको माछा, आफ्नै बारीमा फलेको तरकारी उनकोमा पाइने खाना हुन् । लोकल कुखुराको अण्डा र जैतुनको तेल मिसाएर बनाइएको सलाद उनकोमा पाइने विशेष परिकार हो ।

काममा पूर्ण सन्तुष्टि

युरोपमा बन्दै गरेको पीआर (स्थायी बसोबास अनुमति) छाडेर नेपाल आए उनी । एक छोरा र एक छोरी काठमाडौंमा अध्ययनरत छन् । मनु भने मर्स्याङ्दी किनारामा एक्लै छन् ।

‘आगामी वर्षसम्म होटलको छेवैमा पौडी पोखरी निर्माण गर्ने योजना छ, जुन नेपालमा पहिलो हुनेछ,’ उनले दाबी गरे ‘आफूले गरेको कामप्रति वान हन्ड्रेड टेन प्रतिशत सन्तुष्ट छु ।’ उनको परिवार तनहुँको खानदानी परिवार हो, राजमार्गको दायाँबायाँ प्रसस्त जमिन छ ।

पैसा कमाउनभन्दा पनि पेशाको सम्मानका लागि उनले हस्पिटालिटी रोजे र यसैलाई निरन्तरता दिँदैछन् । ‘व्यापार विस्तारको नाममा मैले अन्यत्र होटल खोल्दिनँ, यहाँ आउने पाहुनालाई सकेसम्म सन्तुष्ट बनाउँछु,’ उनले भने ।

ग्राहकलाई सुनाए कृष्ण सुदामाको प्रसंग

मनुको होटलमा आउने अधिकांश ग्राहक खाना र उनको बोलीबाट प्रभावित छन् । ग्राहकले खानाको प्रशंसा गरेपछि उनले महाभारतको एउटा प्रसंग सुनाए ।

भगवान कृष्णका साथी सुदामा एकदमै गरीब थिए । एकदिन सुदामा कृष्णलाई भेट्न जान लागेका थिए । साथी भेटन जाँदा कोशेली लिएर जानुपर्ने, तर कोशेली केही थिएन । सुदामाले आमासँग कृष्णलाई दिने कोशेली मागे । आमासँग केही थिएन । तर केही नभएपछि आमाले सुदामालाई एक पोका चामलको कनिका दिइन् । कृष्णलाई कनिकाको कोशेली लिएर जानुपर्दा सुदामा खिन्न थिए । तै पनि आमाले दिएको कोशेली लिएर सुदामा कृष्णको घरमा पुगे । गोपिनीहरुसँग खेलिरहेका कृष्णलाई सुदामाले मन खिन्न बनाएर आमाले दिएको कोशेली दिए । तर कृष्णले साथीले दिएको कनिकाको कोशेली स्वाद मानी–मानी खाए । जसले सुदामालाई निकै खुसी र दंग बनायो ।

यो प्रसंग सुनाउँदै मनुले पनि आफूले तयार पारेको परिकारमा ग्राहक सन्तुष्ट भएकोमा खुसी व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्