
धनगढी, १५ वैशाख- प्रदेश नं. ७ को अल्पकालीन बजेट आज (शनिबार) बसेको प्रदेशसभा बैठकबाट पारित भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले वैशाख ९ गते संसदमा प्रस्तुत गरेको १ अर्ब २ करोड ५ लाखको बजेट पारित भएको हो ।
प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले प्रस्तुत बजेट सम्भाव्यतामा मात्रै केन्द्रित रहेको भन्दै खर्च कटौतीको माग गरी संशोधन प्रस्ताव पेश गरेका थिए ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कर्ण मल्लले अनुसन्धानका नाममा ७ करोड २० लाख रकमलाइ घटाउँदै १ रुपैयाँ राख्नुपर्ने भन्दै संशोदन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रिय जनता पार्टीकी सांसद मालामति राना थारुले समर्थन जनाएकी थिइन् ।
राजपाकै अर्का सांसद कृष्णबहादुर चौधरीले खर्च शीर्षकमा रहेको २ करोड ९० लाख ५० हजारलाई १ सय रुपैयाँमा झार्नुपर्ने भन्दै संशोधन प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावलाई नेपाली कांग्रेसका सांसद डा. रणबहादुर रावलले समर्थन जनाएका थिए ।
तर आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएपछि प्रस्तुत अल्पकालीन बजेट पारित भएको हो ।