
सुर्खेत, १५ वैशाख- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रम गरिहेका बेला शनिवार विहान वीरेन्द्रनगरको पिपलचौतारामा ज्ञापन पत्र बुझेका छन् ।
प्रदेश सरकारले हरेक महिनाको १ र १५ गते श्रम गर्ने निर्णय बमोजिम सरसफाईमा व्यस्त रहेका बेला उनले आफ्नै जिल्लाबाट आएको एक टोलीले दिएको ज्ञापनपत्र बुझेका मुख्यमन्त्री शाहीका प्रेस संयोजक ध्रुव बुढाथोकीले लोकान्तरलाई बताए ।
मुख्यमन्त्री शाहीलाई श्री तिला कर्णाली बहुमुखी क्याम्पस, कालीकोटको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्रमा क्याम्पस हाताको घेरावार गर्न, फिल्ड निर्माण पर्खाल सहित, २ कोठे पक्कि भवन, ताडी बसपार्कदेखि क्याम्पससम्म पक्की सडक, इलाईब्रेरीसहितको ४ कोठे भवन, ८ कोठे र खानेपानी लगायतको संरचना निर्माणका लागि पहल गरिदिन आग्रह गरेको छ । उक्त प्रतिनिधि मण्डलले मन्त्रालयमै ज्ञापन पत्र बुझाउन चाहेपनि मुख्यमन्त्रीले सडकमै बुझ्ने भनेपछि उनीहरुले बीच सडकमै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले सहयोग गर्ने बताएका थिए । ‘ज्ञापन पत्रमा उल्लिखित बुँदालाई सम्वोधन गर्न पहल गर्नेछु ।’ मुख्यमन्त्रीलाई उदृत गर्दै उनका प्रेस संयोजक बुढाथोकीले भने, ‘दिउँसो अत्यन्तै व्यस्त भएका कारण ज्ञापनपत्र उहाँले सडकमै बुझ्नु भएको हो ।'