
काठमाडौं, १७ वैशाख– सोमबारका लागि तय भएको नेपाली कांग्रेसको निर्वाचित सदस्यहरुको बैठक स्थगित भएको छ । बैठक अब २२ गते शनिवार बस्ने छ ।
सोमवार बिहानका लागि बोलाइएको बैठक पौडेल समूहले विरोध गरेपछि स्थगित गरिएको संस्थापन पक्षका एक नेताले बताए । आन्तरिक छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
पदाधिकारीको मनोनयनका लागि सभापति शेरबहादुर देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए । कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरिनेछ । निर्वाचित केन्द्रीय सदस्यहरुबाट तीन जना पदाधिकारी मनोनयन हुने कांग्रेस विधानमा व्यवस्था छ ।
विना सरसल्लाह पदाधिकारी मनोनयन गर्न लागिएको भन्दै पौडेल पक्षले बहिस्कार गर्ने चेतावनी दिएको थियो । पदाधिकारी नियुक्त गर्दा बहुमतमा गर्दा गलत सन्देश जाने भन्दै सहमतिको प्रयास जारी छ ।
पदाधिकारीमा क–कसको सम्भावना ?
पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा आफ्ना विश्वास पात्र विमलेन्द्र निधिलाई चयन गर्ने तयारी गरेका उनी निकट श्रोतको दाबी छ । विजयकुमार गच्छदार र गा्पालमान श्रेष्ठ पनि उपसभापतिका दावेदार हुन् । श्रेष्ठ र गच्छदारले केन्द्रीय समिति बैठकमा दुइघण्टा बोलेर आफूलाई उपसभापतिको दावेदारका रुपमा प्रस्तुत गरेका थिए ।
कांग्रेससँग पार्टी विलय गराएका गच्छदारलाई संसदीय दलको उपनेता बनाएर देउवाले निधिलाई उपसभापति बनाउन बाटो खोलेका थिए । तर गच्छेदार पनि उपसभापतिका दाबेदारी छाडेका छैनन् ।
देउवाले पूर्णबहादुर खड्कालाई बनाउने तयारी गरेका छन् । ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँड लगायतका नेताहरु महामन्त्रीका लागि आकांक्षी छन् । महामन्त्रीका दावेदार खाँडले संसदीय दलको मुख्य सचेतक पद अस्वीकार गर्ने चेतावनी दिएका थिए ।
आकांक्षी धेरै भएका कारण महाधिवेशन सकिएको दुई वर्ष हुनै लाग्दा देउवाले पदाधिकारी नियुक्त गर्न नसकेका हुन् ।
सहमहामन्त्रीमा भने देउवाले पौडेल पक्षका नेतालाई बनाउने तयारी गरेका छन् । तर अन्य पदमा पौडेल पक्षले सहमति नजनाएको सहमहामन्त्रीमा पनि देउवाले आफू निकटमा नेतालाई बनाउने तयारी गरेका छन् । पौडेल पक्षले सहमहामन्त्रीमा चित्त नबुझाएमा डा प्रकाशशरण महत या मानबहादुर विश्वकर्मा मध्ये एक जनालाई सहमहामन्त्री नियुक्त गर्ने देउवाको तयारी छ ।