
काठमाडौं, १७ वैशाख– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपत्ता भएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहनी पनि बयानका लागि बोलाइएका छन् ।
३३ किलो सुन प्रकरण र सुन प्रकरणसँगै जोडिएको मोरङका सनम शाक्य हत्याकाण्डको छानवीनका लागि गठित गृह मन्त्रालयको समितिले एसएसपी लोहनीलाई बयानका लागि पत्र काटेको हो ।
लोहनीलाई बयानका लागि आइतवार पत्र काटिएको स्रोतले जनाएको छ । लोहनी बयान दिन बुधवार जिल्ला प्रहरी कार्यालय मोरङ पुग्नेछन् । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याकाण्ड छानवीनका लागि ठगित गृह मन्त्रालयका सह–सहित ईश्वरराज पौडेल नेतृत्वको टोली अहिले मोरङमा छ ।
एसएसपी लोहनी मोरङमा शाक्यकको हत्या हुँदा महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख थिए । एसएसपी लोहनीले अधिकार क्षेत्र मिच्दै शनमका हत्यारा पक्राउ गर्न भन्दै अपराध महाशाखाको टोली मोरङ पठाएका थिए । सुन तस्करीमा भरियाका रुपमा प्रयोग भएका भनिएका सनमको गत माघ १९ गते मोरङमा शव फेला परेको थियो ।
हत्यामा संलग्नलाई जोगाउन अपराध महाशाखाबाट अनावश्यक चलखेल भएको भन्दै लोहनी सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा तानिएका थिए । लोहनीसँगै महाशाखाका डिएसपी प्रतिज केसी र सई बालकृष्ण सञ्जेललाई अपराध महाशाको जिम्मेवारीबाट हटाएर गत चैत २२ गते प्रहरी प्रधान कार्यालय तानिएको थियो ।
डिएसपी केसी र सई सञ्जेल घटनामा संलग्न रहेको भन्दै गृह मन्त्रालयको सचिवले हिरासतमा राखेर थप अनुसन्धान गर्न निर्देशन दिएसँगै उनीहरु विरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ ।