
काठमाडौं,२० वैशाख– अढाई महिनाअघि साउदी पुगेका ६ जना युवाहरुलाई कम्पनीले भने अनुसार काम नदिएपछि बिचल्लीमा परेका छन् । ६ जना मध्ये पाँच जना सप्तरी र एक जना धनुषाका रहेका छन् ।
वैदेशिक रोजगार विभाग धाइरहेका पीडितका आफन्तहरुले आफ्नो कुरा कसैले नसुनेको भन्दै आक्रोश पोखिरहेका छन् ।
उनीहरुले गत दुई महिनामा ७ पटक विभागको चक्कर लगाएको भएपनि कसैले गुनासो सम्बोधन नगरेको दुख पोखेका छन् ।
पीडितहरुले साउदीमा रहेका आफ्ना छोराले दुख पाइरहेको बताए ।
मोहम्मद अल हैदर नामक कम्पनी अन्तर्गत चाउचाउ फ्याक्ट्रीमा लोड अनलोडको काम गर्न भनेर साउदी पुर्याइएका कृष्ण कुमार दास, चन्द्रेश्वर पासवान, इन्दल पासवान, भुपिन पासवान, अमरेन्द्र दास र भरत दास अलपत्र परेका हुन् ।
उनीहरुलाई चाउचाउको फ्याक्ट्री भन्दै फलामको फ्याक्ट्रीमा काम गर्न लगिएको थियो ।
पीडितका आफन्तहरुले साउदी लानका लागि ‘अस्मिता इन्टरनेसनल ओभरसिज’ले एक लाख बीस हजारका दरले रकम असुलेको थियो ।
दैनिक ८ घण्टा काम भनेर लगिएपनि १२ घण्टा भन्दा बढी काम गर्न लगाइएपछि उनीहरु बिरामी भएका थिए ।
उनीहरुलाई महिनाको अन्त्यमा तलब पनि नदिईएपछि आफन्तलाई फोन गरेर आफूहरुको उद्दार गर्न आग्रह गरेका थिए ।
आफन्तले वैदेशिक रोजगार विभागमा आएर निवेदन दिएपछि गत चैत्र २१ गते म्यानपावरका प्रतिनिधि र पीडितका आफन्तबीच समस्या १० दिन भित्र समाधान गर्ने र समाधान नभए नेपाल फिर्ता ल्याउने सहमति भएको थियो । सो कागजातमा म्यानपावरको तर्फबाट मधु भेटुवाल र गोकर्ण कुमार थापाले हस्ताक्षर गरेका छन् ।
तर सम्झौता भएपछि कम्पनीले खाने बस्ने सुविधा खोस्ने मात्र होइन, कुट्ने पनि गरेको छ । पीडामा परेका ६ जना नै अहिले बिरामी छन् । उनीहरुको पासपोर्ट, साथमा भएको पैसा र फोनसमेत कम्पनीले खोसेर राखेको पीडितका आफन्त शिव कुमार पासवानले लोकान्तरलाई बताए ।