
काठमाडौं, २० वैशाख – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
डा. देवकोटालाई भेट्न बाबुराम बिहीवार अपराह्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए । सहपाठीसमेत रहेका डा. देवकोटासँग भट्टराईले करीब २० मिनेट भलाकुसारी गरेको डा. देवकोटाका एक आफन्तले लोकान्तरलाई जानकारी दिए ।
बाबुराम र उपेन्द्र स्कूले साथी हुन् । गोरखाको लुइटेलस्थित अमरज्योति हाइस्कूलमा अध्ययनरत रहँदा बाबुराम सधैँ प्रथम र उपेन्द्र दोस्रो हुन्थे ।
बिहीबारको भेटमा भट्टराईले देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिए ।
क्लासमेट भए पनि बाबुराम र उपेन्द्रबीच राजनीतिक घोचपेच चलिरहन्छ । गत मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा चुनावमा देवकोटाले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पक्षमा भोट मागेका थिए ।
उपेन्द्रले बाबुरामलाई लक्षित गर्दै कटाक्ष गरेपछि गोरखाको पालुङटारमा आयोजित सभामा बाबुरामले उपेन्द्रप्रति लक्षित गर्दै भनेका थिए, ‘तपाईं नभएको भए म प्रथम हुन सक्दिनथेँ ।’
उपेन्द्रलाई भेट्दा बाबुराम एकछिन भावुक बनेका थिए । ६ महिनासम्म बेलायतमा उपचार गराएर डा.देवकोटालाई शनिवार नेपाल ल्याइएको थियो ।
बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा जाहेर गरेपछि उनलाई नेपाल ल्याइएको थियो ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भेटेर डा. देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।