
जनकपुरधाम, २० वैशाख– नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते (शुक्रवार) सिधै जनकपुरधाम पुग्नेछन् । भारतीय वायू सेनाको हेलिकप्टरमा जनकपुर ओर्लने मोदीको ल्याण्ड हुने स्थान भने फेरिएको छ ।
यसअघि मोदी चढेको हेलिकप्टर जनकपुरको बाह्रविधा मैदानमा अवतरण हुने भनिएको थियो । त्यसका लागि २ ठाउँमा हेलीप्याड समेत बनाइएको थियो । तर बुधवार भारतीय सेनाको विशेष हेलिकप्टरबाट गरिएको पूर्वाभ्याससहितकाे परीक्षण पश्चात बाह्रविघा मैदानमा मोदीको हेलिकप्टर अवतरण नुहने देखिएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मोदीको हेलिकप्टर अब जनकपुर विमानस्थलमा अवतरण हुने बताए । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते विहान ९ बजे जनकपुर विमानस्थलमा उत्रिनुहुनेछ,’ मन्त्री साहले लोकान्तरसँग भने ।

ओलीले स्वागत गर्ने
मन्त्री साहका अनुसार भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर विमानस्थलमा स्वागत गर्नेछन् । त्यसपछि दुवैजना प्रधानमन्त्री राम–जानकी मन्दिर प्रस्थान गर्नेछन् ।
राम–जानकी मन्दिरमा दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा पूजा–अर्चना गर्नेछन् । दुवै प्रधानमन्त्रीले करिब आधा घण्टा राम–जानकी मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम तय भएको छ ।
पूजा सकिएपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किनेछन् भने मोदीलाई जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दन गरिने छ ।
जनकपुर उपमहानगरपालिकाका प्रमुख (मेयर) लालकिशोर साहले मैथली भाषामा मोदीलाई नागरिक अभिनन्दन गर्नेछन् ।

काठमाडौंमा गार्ड अफ अनर
जनकपुरमा नागरकि अभिनन्दन सकिएपछि मोदी जनकपुरबाट करिब ११ बजे काठमाडौंका लागि उड्नेछन् । काठमाडौंस्थित सैनिक मञ्जमा मोदीलाई नेपाली सेनाले विशेष राजकीय सम्मान (गार्ड अफ् अनर) प्रदान गर्नेछ ।
गार्ड अफ अनर लिएपछि मादीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।
मुक्तिनाथबाट पोखरा जानेछन् मोदी
राष्ट्रपतिसँगको भेटवार्ता पछि मोदी २८ गते नै मुस्ताङको मुक्तिनाथ धामको दर्शनका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथबाट मोदी पर्यटकीय नगरी पोखरा पुग्ने कार्यक्रम छ । प्रदेश नम्बर २ को मन्त्रिपरिषद बैठकमा भएको छलफलअनुसार मोदी वैशाख २८ गते (शुक्रवार)को राति पोखरामा बिताउनेछन् ।

मोदी ४८ घण्टा नेपालमा रहने
भारतीय प्रधानमन्त्रीमा निर्वाचित भएपछि नरेन्द्र मोदी वैशाख २८ गते तेस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यो भ्रमणका दौरान मोदी करिब ४८ घण्टा नेपालमा रहनेछन् ।
भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डल र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डलबीच शनिवार दुई पक्षीय वार्ता हुने कार्यक्रम छ । शनिवार मोदीले प्रमुख राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् ।
वैशाख २८ गते (शुक्रवार) विहान ९ बजे नेपाल पुग्ने मोदी शनिवार राति वा आइतवार विहान स्वदेश फर्किनेछन् । यद्यपि उनी कहिले स्वदेश फर्किनेछन् भन्ने विषयमा भने औपचारिक जानकारी बाहिर आएको छैन ।