
काठमाडौं, २१ वैशाख–सिन्डिकेट पक्षमा रहेका व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै व्यवसायी पक्राउ पर्न थालेका छन् ।
प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडे, महासविच पदम गाहालाई बुटवलबाट पक्राउ गरेको छ ।
त्यस्तै बुटवल यातायात व्यवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काभ्रे मिनीवस सेवा समितका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ ।
त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायता व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मेची बस व्यवसायी संघ, पूर्वी नेपाल बस व्यवसायी संघ, हिमाल यातायात बस व्यवसायी संघ, सगरमाथा यातायात बस व्यवसायीसंघका पदाधिकारीलाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्डिकेट पक्षधर अन्य व्यवसायीको खोजीलाई तिब्रता दिएको छ ।
सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले आन्दोलन घोषणा गर्दै यातायात सेवा बन्द गरेपछि सरकार झन कडा रुपमा प्रस्तुत हुने भएको छ ।
सरकारले सिन्डिकेटका पक्षमा यातायात वन्द गर्ने यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति छानबिनको प्रक्रिया आजै शुक्रवारदेखि नै अगाडि बढाउने भएको छ ।
यातायात समितिहरु संस्था दर्ता ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका थिए । सरकारी निर्णयअनुसार अब यातायात समिति स्वतः खारेजीमा जानेछन् ।