
काठमाडौं, २१ वैशाख– यातायात व्यवसायी समितिहरुले सिन्डिकेट तोड्ने निर्णय गरेको सरकारलाई घुंडा टेकाउन भन्दै सेवा बन्द गरे पनि कम्पनीको रुपमा दर्ता भएका यातायात सेवाप्रदायकहरुले साविक झैँ आफ्ना गाडीहरु चलाइरहेका छन् ।
तर राजधानीका विभिन्न रुटमा यातायात चलाउने सवारीहरुले ट्राफिक प्रहरीसंग भने समन्वय गरेका छैनन् । आवश्यक समन्वय नहुँदा कुनै रुटमा धेरै गाडी चलेका छन् भने कुनै रुटमा चल्ने गाडीहरुको संख्या अत्यन्त न्यून छ । समन्वयको अभावमा यात्रुहरु मर्कामा परेका छन् ।
निश्चित रुटमा निश्चित सवारी साधन संचालन गर्ने पूर्वतयारीको अभावमा आम सर्वसाधारण यात्रुहरुलाई समस्या भएको छ । यो विषयमा मयुर यातायात प्रालिका अध्यक्षले मोहन श्रेष्ठले लोकान्तरसँग छोटो कुरा गर्दै बिनायोजना सवारीहरु चलाइएको कुरालाई स्वीकार गरे ।
‘पूर्वतयारीको अभावमा यस्तो भयो,’ उनको भनाइ थियो ।
तर ट्राफिक प्रहरी प्रवक्ता उमेश रञ्जितकारले भने आफूहरुले हिजो भएको छलफलमा कुन रुटमा कति सवारी चलाउने भन्ने विषयमा प्रष्ट पारेको दावी गरे । केही स्थानमा समस्या देखिए पनि समग्रमा धेरै समस्या नरहेको उनको भनाइ छ ।