३१ जेठ २०८३, आइतबार

काठमाडौंका होटेलमा बसेर कल बाइपासको धन्दा

बैशाख २५, २०७५
काठमाडौंका होटेलमा बसेर कल बाइपासको धन्दा

काठमाडौं, २५ वैशाख– प्रहरी सक्रियताले केही समयदेखि कम भएको भनिएको अवैध अन्तर्राष्ट्रिय कल बाइपास गर्ने क्रम फेरि बढेको छ । 

काठमाडौंका होटेलमै बसेर अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरिएको फेला परेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपालमा बसेर अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको मध्यप्रदेश घर भएका २४ वर्षीय विवेक शुक्ला र सिन्धुलीको सुनकोशी स्थायी घर भएका २५ वर्षीय लाल बहादुर मगराती छन् । 

उनीहरुको साथबाट कल बाइपासमा प्रयोग हुने विभिन्न विद्युतीय उपकरण समेत बरामद भएको सिआईबीले जनाएको छ । 

पक्राउ परेकाहरुले काठमाडौं–९ एयरपोर्ट रोडस्थित स्टारगेज होटेलको कोठा नम्बर ३०४ र कागेश्वरी मनहरा–७ शान्तिदिप टोलस्थित भोलाराज गौतमको घरमा अबैध रुपमा कल बाइपास गर्ने सेन्टर सञ्चालन गरिरहेका थिए । 

पक्राउ परेका लालबहादुर मगराँती यसअघि पनि कलबाइपास गरेको अभियोगमा पक्राउ परी १८ महिना जेल बसेका व्यक्ति हुन् । 

भारतीय नागरिक शुक्लाले भने केही समय अगाडि बर्दियाको गुलरियामा कलबाइपास गर्ने सेन्टर सञ्चालन गरेको र त्यसपछि काठमाडौंलाई कार्यक्षेत्र बनाएको सिआईबीको अनुसन्धानबाट पत्ता लागेको छ । 

पक्राउ परेकाहरु विरुद्ध प्रहरीले दूरसञ्चार ऐनअन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाएको छ । 

प्रहरीले अहिलेसम्म १०२ स्थानहरुमा सञ्चालित कल बाइपास सेन्टरमा छापा मारी १२६ नेपाली ३२ विदेशी गरी १५८ लाई पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध ११ अर्ब ९० करोड ३६ लाख ६२ हजार रुपैयाँको बिगो माग दावी गर्दै मुद्दा दर्ता भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्