
काठमाडौं, वैशाख २५–पार्टी उपसभापतिमा मनोनित भएपछि विमलेन्द्र निधिले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको थातथलो सिन्धुलीको दुम्जामा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सोमबार गृहनगर धनुषा पुगेर पिता महेन्द्रनारायण निधि तथा पूर्वजहरूको दाहसंस्कार गरिएको ठाउँ पुगी माल्यार्पण गरेका निधि त्यहाँबाट सिन्धुली पुगी त्यहीँ बास बसे ।
मंगलबार बीपीको थातथलो दुम्जा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै निधिले भने– ‘म कांग्रेसको राजनीतिमा यहाँसम्म बीपी कोइरालाको आशीर्वादले नै आइपुगेको छु, त्यसैले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न दुम्जा आएको हुँ ।’
२०३६ सालमा नेता निधिलाई बीपी कोइरालाले नै नेविसंघको अध्यक्ष बनाएका थिए ।
सिन्धुलीमा मंगलबार पार्टीका नेता तथा कार्यकर्तासंगको भेटमा उपसभापति निधिले कांग्रेसको नेतृत्वमा सम्पन्न गत निर्बाचमा पार्टीले हार ब्योहोर्नु परे पनि देश, लोकतन्त्र र संसदीय व्यवस्थाको जीत भएको बताए ।
अबको निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने उनको जीकिर छ । त्यसका लागि पार्टीमा कुनै किसिमको गुट उपगुट हुन नहुने उनले बताए । पार्टीलाई एकढिक्का बनाउने विषयमा आफूले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूसँग भेटेर कुराकानी गरिसकेको उनको भनाइ छ ।