
काठमाडौं, २५ वैशाख – जाम्बियाको एक शीर्ष विश्वविद्यालयले महिला विद्यार्थीहरूलाई अर्धनग्न भएर पुस्तकालय नआउन आदेश दिएको छ । उनीहरू यसरी आउँदा पुरुष विद्यार्थीहरूको ध्यान भंग भएको विश्वविद्यालयको तर्क छ ।
राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालयले पुस्तकालयमा सूचना टाँसेर भद्र लुगा लगाउन आग्रह गरेको छ ।
अफ्रिकाको दक्षिणी क्षेत्रमा रहेको यो देश सांस्कृतिक रूपमा पुरातनपन्थी छ ।
तर विश्वविद्यालयका विद्यार्थीहरू फेशनेबल भएर हिँड्न मन पराउने बीबीसीका केनेडी गोन्ड्वे बताउँछन् ।
पुस्तकालयको सूचनामा लेखिएको छ, ‘केही महिला विद्यार्थी अधएनग्न भएर पुस्तकालयमा आएको हामीले थाहा पाएका छौं र यस परिस्थितिले पुरुष विद्यार्थीलाई डिस्टर्ब गरिरहेको छ । त्यसैले हामी महिला विद्यार्थीलाई विश्वविद्यालयमा
भद्र पहिरन लगाएर आउन सल्लाह दिन्छौं । भ्रदता नै सही बाटो हो ।’
केही महिलाले यो सूचनामा आपत्ति जनाए ।
‘तपाईंको लक्ष्य पुस्तकालय गएर किताब पढ्नु हो भने महिलाका तिघ्रा हेर्न किन थाल्नुहुन्छ ?’ तेस्रो वर्षकी विद्यार्थी डिकिना मुजेयाले बीबीसीलाई बताइन् ।
‘किताबमा मात्र ध्यान दिनुस्, कुरा त्यत्ति हो,’ उनले भनिन् ।
तर एक पुरुष विद्यार्थी किलियन फिरीले यो कदम सही भएको बताए ।
‘तपाईंलाई थाहै छ महिलाको शरीर कति आकर्षक हुन्छ । मिनीस्कर्ट वा टाइट ड्रेस लगाएका महिला देख्दा कसरी पढाइमा ध्यान दिन सकिन्छ ? तपाईं अरू कुरा सोच्न थाल्नुहुन्छ र पढाइमा ध्यान दिन सक्नुहुन्न,’ उनले भने ।
बीबीसीबाट