
धनगढी, २६ वैशाख - कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा डेढ करोडको लागतमा पोस्ट हावेस्ट सेन्टर स्थापना भएको छ ।
नेपाल सरकार र स्थानीय किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेडको संयुक्त साझेदारीमा बीज अन्नबाली बृद्धि कार्यक्रम अन्तरगत उक्त पोस्ट हावेस्ट सेन्टर स्थापना गरिएको हो । प्रदेश ७ की भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले आज (बुधबार) एक कार्यक्रमको बीच उद्घाटन गरेकी हुन् ।
सहकारीको १० कठ्ठा क्षेत्रफलमा ८० प्रतिशत सरकार र बाँकी सहकारी संस्थाको लगानीमा कार्यक्रम अन्तरगत पोस्ट हार्वेस्ट सेन्टर स्थापना गरिएको छ । हार्वेस्ट सेन्टर अन्तरगत थ्रेसिङ फ्लोर, गार्ड हाउस, गोदाम घर, ओपन सेट, मेशिनरी भवन, सभा कक्ष निर्माणसहितको कार्यालय भवन निर्माण गरिएको छ भने एक सय केभीको ट्रान्सफार्मर जडान गरिएको सहकारीको अध्यक्ष शंकरबहादुर केसीले जानकारी दिए । त्यस्तै, कार्यक्रम अन्रगत २३ लाखको लागतमा हार्वेस्ट सेन्टरको लागि मसिनरी औजार खरिद गरिएको छ ।
जसमा सरकार र सहकारीको ५०/५० प्रतिशत लगानी रहेको अध्यक्ष केसीले बताए । प्रति घण्टा १७ क्वीन्टल उत्पादन क्षमता रहेको उक्त हार्वेष्ट सेन्टरबाट धान, गहुँ, मकै, मसुरो, तोरीको ग्रडिङ तथा हार्वेष्टीङ हुँदै आएको छ । एक सय तीन जना शेयर सदस्य रहेको सहकारीले उक्त क्षेत्रमा विभिन्न अन्नबालीको उन्नत बीउ उत्पादन गरी बिक्रि वितरण गर्दै आएको छ । सहकारीका सदस्य तथा किसानलाई मूल बीउ वितरण गरी उन्नत बीउ उत्पादन गराई बजारीकरण गराउँदै आएको छ । जसबाट कञ्चनपुर र कैलालीको दक्षिणी क्षेत्रका किसानहरु लाभान्वित भएको जनाइएको छ ।