काठमाडौं, २६ वैशाख – नेपाल र भारतबीचको सम्बन्धमा आएको तिक्तता कम गर्नका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार नेपाल आउँदैछन् । प्रधानमन्त्रीको यो भ्रमण धार्मिक बताइँदैछ तर दुई देशबीचको दूरी कसरी कम गर्ने भन्ने विषयमा पनि ध्यान पु–याइनेछ ।
नेपालमा चीनको प्रभाव कम गराउनका लागि मोदी सरकारले खुबै जोड दिइरहेको छ । यसको प्रमाण चार वर्षमा मोदीको तेस्रोपटकको नेपाल भ्रमण हो ।
अघिल्लो महिना नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि भारत गएका थिए । अहिले मोदी नेपाल आउनुले पनि खास सन्देश दिन्छ ।
दुईदिने धार्मिक भ्रमणमा मोदी जनकपुर जानेछन् र जानकी मन्दिर दर्शन गर्नेछन् । त्यसपछि उनी मुक्तिनाथ जानेछन् । यसका साथै मोदीले नेपालसँग कनेक्टिभिटी र विकास निर्माण परियोजनालाई बलियो बनाउन जोड दिनेछन् ।
दुवै देशका प्रधानमन्त्री मिलेर जलविद्युत् परियोजना अरुण तेस्रोको आधारशिला राख्नेछन् । भारतको ध्यान रक्सौल–काठमाडौं रेल लिंकमा हुनेछ जसका बारेमा ओलीको भारत भ्रमणमा पनि कुरा उठेको थियो ।
नेपाल र भारतबीच अहिले तीन मुद्दा प्रमुख रूपमा देखिन्छ । यिनैले दुई देशको सम्बन्ध बिगार्न सक्छन् । पहिलो चीनसँगको बढ्दो निकटता, दोस्रो जलविद्युत् परियोजना अरुण तेस्रोनजिक ब्लास्ट र तेस्रो नोटबन्दीका बेलामा बन्द
भएका नोट ।
ओली छिट्टै चीन जाँदैछन् । नेपालले आफ्नो विकासका लागि चीनलाई साझेदार बनाउला भनी भारत चिन्तित छ । गण्डकी जलविद्युत् परियोजनाका लागि आगामी निर्णयबाट पनि धेरै कुरा थाहा हुन्छ । नेपालले भर्खरै चिनियाँ
कम्पनीलाई दिएको ठेक्का रद्द गरेको थियो, अब फेरि चीनलाई नै त्यो दिने हो कि भनी भारत डराएको छ । भारतमा नोटबन्दीपछि बन्द भएका ५०० र १००० का नोट नेपालका लागि चिन्ताको विषय हो ।
खासमा नेपालको बैंकहरूमा ठूलो संख्यामा भारतीय नोट छन् । तिनीहरूको के गर्ने भन्ने विषयमा निर्णय लिनका लागि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाका बीच अनेकौं बैठक भएपछि कुनै परिणाम आएको छैन ।
नवभारत टाइम्समा प्रकाशित विश्लेषणको भावानुवाद