
सुर्खेत, २७ बैशाख-कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा कार्यक्रममा सहभागि हुनेहरुलाई दिइने भत्ता वापतको रकम कोषमा जम्मा गरिने बताएका छन् ।
विहीबार लोकान्तरसँग कुरा गर्दै उनले त्यसो गर्न सकेको खण्डमा प्रदेशको विकास गर्न सकिने र पीडामा परेका कर्णालीवासीले राहत पाउने बताए ।
‘मलाई सरकार तथा गैरसरकारी संस्थाहरुले कार्यक्रममा सहभागि हुनेलाई भत्ता दिने कार्य मन परेको छैन’ उनले भने, ‘उक्त रकम सरकारी कोषमा जम्मा गर्न सके प्राकृतिक तथा अप्राकृतिक घटनाबाट पीडित जनताले राहत पाउन सक्छन् ।’ मुख्यमन्त्री शाहीले यसबारेमा आफूले थप छलफल गर्ने बताए ।
‘हजार रपैंया भत्ता बुझेर केही हुँदैन’ उनले भने, ‘तर ५०/१०० जनाले भत्तावापत पाउने रकम कोषमा जम्मा गर्न सके ठूलो रकमको हामी जोहो गर्न सक्छौं ।’
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भूकम्प, आगलागी, बाढीपहिरोजस्ता जोखिममा रहेको बताए । ‘हाम्रो प्रदेश भौगोलिक विकटतामा छ ।’ उनले थपे, ‘कुनैपनि बेला प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति पु¥याउन सक्छ ।’ उनले प्रदेश सरकारले केहि दिन पहिलेमात्रै मुगुमा आगलागी भएको र ती पिडितहरुलाई अलिकति भएपनि राहत दिन सकिएको स्मरण गरे । ‘हामीसँग यस्तो रकम भएको भए सोही दिन हामीले राहत दिन सक्थ्यौं ।’ उनले भने, ‘अब यस्ता कुरालाइ ख्याल गर्दै सरकार अघि बढ्छ र प्रदेशलाई विकसित बनाउने योजनामा लम्किन्छ ।’
मुख्यमन्त्री शाहीले केन्द्र सरकारसँग कर्णालीको विकासकालागि ठूला आयोजनामा लगानी गर्न आग्रह गरेको बताए ।
‘हिजो बुधबारमात्रै हामीले प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई कर्णालीको समग्र विकासकालागि केही आयोजना बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छौं ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सकारात्मक जवाफ दिनुभएको छ ।
उहाँले राराबाटै कर्णालीलाई समृद्ध बनाउने घोषणा पनि गर्नुभएको छ ।’ मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, केन्द्र सरकारसँग कर्णालीको विकासका लागि पर्याप्त बजेटको व्यवस्थापन गर्न माग गर्दै काठमाडौंमा बसिरहेका छन् ।