
धनगढी, २८ वैशाख– कैलालीको कैलारी गाउँपालिकाले जिल्लामा पहिलो पटक डिजिटल एंव अनलाइन सूचना प्रविधिमार्फत आफ्नो सूचना प्रवाह थालेको छ ।
सेसी, ग्राम विकास तथा अनुसन्धान केन्द्र र गाउँपालिकाको संयुक्त साझेदारीमा सूचना प्रविधिमार्फत सेवा प्रवाहको विविवत रुपमा शुक्रबारदेखि शुरूवात गरेको हो ।
अब उक्त गाउँपालिकाको आधिकारिक पोर्टल kailari.susasan.org मार्फत संसारको सबै ठाउँबाट गाउँपालिकाले प्रवाह गर्दै आएको सेवावारे जानकारी लिन सकिने छ । जवाफदेही, पारदर्शी स्थानीय सरकार, खुला सूचना तथा तथ्यांकको अवधारणा अनुसार सेवाको शुरूवात गरेको गाउँपालिकाले जनाएको छ । यो प्रविधिमार्फत खासगरी गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट, योजना तथा निर्णयहरु, वस्तुगत विवरण (ई प्रोफाइल), गाउँपालिकास्थित आकर्षणका केन्द्रहरु, जनता संग जनप्रतिनिधिलगायत सामग्री संसारको सबै कुनाबाट हेर्न सकिने भएको छ ।
सूचना प्रविधि केन्द्रको उद्घाटन गर्दै प्रदेश नं. ७ का प्रदेश सांसद वीरमान चौधरीले अबको युगमा जो संग सूचना प्रविधिको पहुँच छ, त्यहि नै संसारमा सबैभन्दा धनी तथा शक्तिशाली भएको बताए ।
कैलाली क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहेका उनी आफ्नो निर्वाचन क्षेत्रको लागि आउँदो आर्थिक वर्षमा पाँच वटा बहुआयमिक आयोजना केन्द्र तथा प्रदेश सरकारमार्फत ल्याउने प्रतिवद्धता जनाए । जुन विकास आयोजनामार्फत यहाँको आमूल परिवर्तन संगै आमजनताले जीवनभरी याद गर्न सकिने ठोकुवा गरे ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले प्रदेश नं. ७ मा दोस्रो प्रबिधि केन्द्र स्थापना गर्नेमा स्थानीय निकाय कैलारी गाँउपालिका बनेकोमा कैलारी गाँउपालिकालाई बधाई ज्ञापन गरे ।
यो गाउँपालिका भन्दा पहिले प्रदेश नं. ७ मा अछामको साँफेबगर नगरपालिकाले अनलाइन सूचनाको शुरूवात गरेको छ ।