१७ असार २०८३, बुधबार

भूमि व्यवस्थापनको समस्या जटिल बन्दैः मन्त्री खनाल

बैशाख ३०, २०७५
भूमि व्यवस्थापनको समस्या जटिल बन्दैः मन्त्री खनाल

काठमाडौं, ३० बैशाख- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले नेपालमा भूमि व्यवस्थापनको समस्या जटिल बन्दै गएको बताएका छन् ।  हिमाल र पहाडबाट बसाई सरेर तराईमा झर्ने र तराईको जग्गामा घरघडेरी र प्लटिङ गर्दा समस्या थप जटिलता थपेको बताए ।  नेपालको भूमि दलालको हातमा पुगेको भन्दै मन्त्री खनालले भूमिको समस्या समाधान नगरेसम्म कृषिको समस्या समाधान गर्न मुस्किल पर्ने बताए । त्यसका लागि सरकारले माथिबाटै कदम चाल्नु पर्ने उनकोको भनाई छ । 


खेती गर्ने किसानलाई प्रोत्साहन र बाँझो राख्नेहरुको जग्गा सरकारले नियन्त्रणमा लिनु पर्ने उनले बताए । सरकारले राम्रोसँग बाँझो राख्नेहरुको जमिन नियन्त्रणमा लिन नसके आयात गरेर खानुको विकल्प नरहुने र त्यस्ले उत्पादकत्व झन घटाएर परनिर्भरता बनाउने उनको भनाई छ ।  त्यसका लागि इजरायलबाट धेरै सिक्नु पर्ने कुराहरु रहेको मन्त्री खनालले बताए । इजरायलमा भएको २०औं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ‘एग्रीटेक २०१८’मा सहभागी भएर स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले मौसम र माटो पनि राम्रो नभएको देशले कृषिमा निक्कै राम्रो प्रगती गरेको भन्दै यान्त्रीकिकरण के हो भनेर इजरायलबाट सिक्नु पर्ने बताए ।


मन्त्री खनालले इजराली समकक्षी उरी एरियलसँग भएको भेटमा प्राथमिकता निर्धारण गरेर आधुनिक कृषिका लागि नेपाललाई  सहयोग गर्न आग्रह गरेको बताए ।  उनले सातवटै प्रदेशमा एक एक वटा सामुदायीक कृषि प्रणाली (पहिले कुनै एउटा प्रदेशमा शुरु गरिहाल्न), इजरायलका अनुभव प्राप्त कृषि विज्ञलाई नेपाल बोलाएर प्राविधिक तालिम दिन र कुटो कोदालोदेखि उच्च प्रविधिसम्म नेपालमै के कस्तो प्रविधि अपनाउन सकिन्छ भनेर सिकाउन आग्रह गरेको बताए ।


उक्त प्रस्तावमा इजरायल सरकार सकारात्मक भएको भन्दै छिट्टै सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर हुने उनले बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्