
काठमाडौं, ३१ वैशाख– आइतबार राति तथा सोमबार बिहान अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण विभिन्न स्थानमा पहिरो जानुका साथै सडकसमेत अवरुद्ध भएका छन् । केही क्षेत्र डुवानमा पनि परेका छन् ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको हो । वायुमण्डलको माथिल्लो सतहमा पश्चिमी वायुको प्रभाव तथा तल्लो सतहमा भारतको बिहारमा बनेको न्यून चापीय रेखाका कारण देशभरको मौसम बदली भइ पानी परेको मौसमविदले बताए ।
यस्तै बंगलको खाडी तथा अरबीय सागरबाट पनि जलवाष्पयुक्त हावा आएकाले पश्चिम हुँदै देशका सबै क्षेत्रमा बदली भएको हो । अहिले पश्चिमी क्षेत्रमा मौसम खुल्ने क्रम शुरु हुन थालेको र मध्य तथा विशेष गरी पूर्वी क्षेत्रमा बढी बदली रहेको मौसमविदको भनाई छ ।
उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ । सोमबार बिहान काठमाडौं उपत्यकामा १३.३ मिलिमिटर पानी परेको छ । दिउँसो पनि पानी पर्ने सम्भावना छ । मंगलबार बेलुकादेखि भने मौसममा सुधार आउने छ ।