
काठमाडौं, ३१ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सेनाको कमाण्डोलाई नेपाल प्रवेश गर्न दिइएको भन्दै संसदमा चर्को विरोध भएको छ ।
सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भारतीय सेनालाई नेपालमा प्रवेश दिइएको भन्दै आपत्ति जनाएका हुन् ।
पूर्व रक्षामन्त्री समेत रहेका कांग्रेस सांसद भीमसेनदास प्रधानले दलबल सहित भारतीय सुरक्षाकर्मीलाई नेपालमा निमन्त्रणा गर्दा नेपाली सुरक्षाकर्मीको मनोबल गिरेको बताएका हुन् ।
‘नेपाली सेनाले विश्वमा बहादुरीको पहिचान बनाएको छ । नेपाली सेना शान्ति सेनामा छैटाँै स्थानमा पर्छ,’ प्रधानले भने, ‘नेपालको सुरक्षा निकायलाई ह्युमिलिएसन हुनेगरी दलबलसहित भारतीय सेना आउनु आपत्तिपूर्ण हो ।’
मोदी भ्रमणका क्रममा भएको १६ बुँदे संयुक्त वक्तव्यमा नाकाबन्दीको घाउबारे एक शब्द पनि नराखिनु दुभाग्पूर्ण भएको उनले बताए । ‘भारतीय सांसदले नेपालको सगरमाथा भारतको भनेर भन्दा बीपी कोइरालाले भारतको संसदमा गएर नेहरु –जवाहरलाल)लाई माफी माग्न लगाएका थिए,’ उनले भने, ‘अहिले भारतीय जनता पार्टीका सांसदले बोलेको कुराप्रति सरकार मौन बसेको छ ।’
भारतीय जनता पार्टीका नेता कीर्ति आजादले जनकपुरको विषयमा दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको र उन्ले माफी माग्नुपर्ने प्रधानको माग छ ।
सांसद प्रधानले भारतीय प्रधानमन्त्री मोदी आउँदा निषेधित क्षेत्रमा फोटो खिचिएको तथा नेपालका पत्रकारलाई निधेष गरिएकोप्रति आपत्ति जनाए ।
यसअघि माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी सांसद पम्फा भुसालले पनि मोदीको सुरक्षाको नाममा भारतीय कमाण्डोलाई नेपालमा प्रवेश दिइएको भन्दै आपत्ति जनाएकी थिइन् ।