
काठमाडौं, १ जेठ– इजरेली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिएको घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भइरहेको छ । अन्तर्राष्ट्रियसमुदायले संयमता अपनाउन पनि आग्रह गरेका छन् ।
सोमबार गाजा क्षेत्रमा प्यालेष्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको भडपमा परी प्यालेष्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन संयमता अपनाउन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गरेका छन् ।
इजरायल र प्यालेष्टिनीहरूबीच अत्यधिक तनावमा देखिँदै आएको गाजा तथा पूर्वी जेरूसेलममा सम्बन्धित पक्षले संयम नअपनाउने हो भने यसबाट बर्णन गर्न नसकिने प्रकारको थप पीडा भोग्न बाध्य हुने र यसले शान्ति र सुरक्षाको स्थिति थप जटील मोडमा जाने वब्तव्यमा मोघेरिनीले बताए ।
घटनामा झण्डै एक हजार ७०० जना घाइते बनेका छन् । सोमबार अमेरिकाले जेरूसेलमलाई मान्यता दिँदै आफ्नो राजदूताबासलाई जेरूसेलममा स्थापना गर्ने तयारी भइरहँदा अमेरिकासमेतको विरोधमा भएको प्रदर्शनमा दर्जनौँ प्यालेष्टिनीको ज्यान गुमेको हो ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा ’नरसंहार’को संज्ञा दिएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीमाथि इजरेली सशस्त्र फौजबाट गरिएको हिंसाको भर्त्सना गरेका छन् र दुई राज्यको मान्यताबाट समस्याको हल हुनेप्रतिको समर्थन दोर्होयाएका छन्।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले इजरेलमाथि राज्यबाट गरिने ’आतङ्क र नरसंहार’को आरोप लगाएका छन् ।