
काठमाडौं, १ जेठ – गाजा सीमामा इजरायली सैनिकहरूका साथ प्यालेस्टाइनीहरूको झडपमा हुँदा कम्तीमा ५५ जना मारिएका छन् ।
प्यालेस्टाइनी अधिकारीहरूका अनुसार, यो हिंसक झडपमा परी २७ सय घाइते भएका छन् ।
जेरुसेलममा अमेरिकी दूतावास उद्घाटका बेलामा यो हिंसा भएको हो । दूतावास तेल अभिभबाट सारिएपछि प्यालेस्टाइनीहरू रिसाएका थिए ।
जेरुसेलममा इजरायलको कब्जालाई अमेरिकाले गरेको समर्थनका रूपमा यसलाई लिएका छन् प्यालेस्टाइनीहरूले । उनीहरू जेरुसेलमको पूर्वी भागमा आफ्नो दाबी रहेको बताउँछन् ।
सोमवार अमेरिकाले जेरुसेलममा दूतावास खोल्यो ।
कार्यक्रममा अमेरिकी अधिकारीहरूका साथ राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुशनर पनि उपस्थित थिए ।
ट्रम्पले भिडियोमार्फत यस कार्यक्रमलाई सम्बोधित गर्दै यो क्षणको लामो समयदेखि प्रतीक्षा रहेको बताए ।
गाजामा शासन गर्ने मुसलमान संगठन हमासले पछिल्ला ६ हप्तादेखि आफूहरूलाई निकालिएको वार्षिकीको अवसर पारेर विरोध गरिरहेका छन् ।
इजरायलका अनुसार, प्रदर्शनकारीले सीमामा लगाइएको पर्खाल भत्काउने प्रयास गरिरहेका थिए । इजरायलले पर्खाललाई कडाइका साथ सुरक्षा गर्छ ।
हमासको स्वास्थ्य विभागले सोमवार भएको हिंसामा मारिएका मानिसमा बालबालिका पनि छन् ।
गाजाबाट प्राप्त रिपोर्टअनुसार, त्यहाँ प्यालेस्टाइनीहरूले ढुंगा फ्याँके र आगो लगाउने बम हु–र्र्याए ।
यसको जवाफमा इजरायलका स्नाइपरले गोली चलाए । इजरायली सेनाका अनुसार, ३५ हजार प्यालेस्टाइनीहरू सीमामा रहेको पर्खालनजिक दंगा गरिरहेका थिए ।
विरोध प्रदर्शनको उद्देश्य सीमामा लगाइएको पर्खाल भत्काउने र नजिकका आवासक्षेत्रमा आक्रमण गर्नु थियो भनी इजरायलले दाबी गरेको छ ।
बीबीसी हिन्दीबाट