
काठमाडौं, १ जेठ – भारतको राजस्थानस्थित बहरोडमा नयाँ खालको रेस्टुराँ खुलेको छ । एक पुरानो विमानलाई रेस्टुराँको आकार दिइएको छ । कबाडी भइसकेको प्लेनको उपयोग राम्रोसँग गरिएको छ ।
एक डीलरले केही दिनअघि दुईवटा पुराना प्लेन किनेका थिए जसको प्रयोग रेस्टुराँ खोल्नमा गरिएको छ । अहिले यसको मर्मतको काम भइरहेको छ । प्लेन रेस्टुराँमा राजस्थानी पक्वान्न र अन्य आइटमहरू हुनेछन् ।
नेपालमा क्याप्टेन वेद उप्रेतीले पुरानो विमानलाई रेनोभेट गरेर विमान संग्रहालय बनाएजस्तै भारतमा पनि प्लेनको थिममा पर्यटक आकर्षण गर्ने कुराहरू बनिरहेका छन् । लुधियानामा पनि यस्तै खालको एउटा रेस्टुराँ केही समयअघि खोलिएको थियो ।
राजधानी दिल्लीभन्दा लगभग ३५० किलोमिटर पर रहेको यो रेस्टुराँमा देशविदेशबाट पर्यटकहरू आउँछन् ।
भित्रबाट प्लेन जस्तो देखिने यो रेस्टुराँमा तमाम किसिमका आधुनिक सुविधाहरू रहेका छन् । हवाईयात्राको सपना देख्नेहरूले जमीनमा बसेर नै प्लेन चढेर स्वादिष्ट परिकारको आनन्द प्राप्त गर्न सक्छन् । 
प्लेनमा त १८० जना यात्रु अटाउँथे तर रेस्टुराँ बनेपछि ग्राहकहरूको आरामका लागि यहाँ ७२ जनासम्म बस्न सक्ने प्रबन्ध मिलाइएको छ । अनेकौं इन्जिनियरले कडा मेहनतपछि चार महिनामा यसलाई तयार गरेका हुन् ।
विदेशको कुरा गर्दा चीनको वुहान शहरमा अनि म्यान्मारको राजधानी नेपीडमा प्लेन थिमको रेस्टुराँ बनेका छन् । त्यहाँ वेटरहरू क्याबिन क्रूको जस्तो लुगा लगाउँछन् ।
एजेन्सी