
काठमाडौं, १ जेठ –नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा समृद्धि ल्याउने कुनै लक्षण देखाउन नसकेको बताएका छन् ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेस सुदृढीकरण अभियान लिएर कालीकोट पुगेको पौडेलले नेपाली कांग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी खाली तिर्थाटन गरेर फर्कनुले ओली सरकारसँग कुनै भिजन नभएको प्रष्ट हुने पौडेलको भनाइ छ । ‘बिहानले दिन देखाउँछ भने झै ओली सरकारले केही नगर्ने लक्षण देखाउन शुरु गरेको छ, नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी खाली तिर्थाटन गरेर फर्किएका छन्, यसले पनि सरकारसँग कुनै भिजन छैन भन्ने देखाउँछ,’ पौडेलले भने ।
उनले विकास निर्माणका पूर्वाधार सवै कांग्रेसले पालामा भएको बताउदै भन्नुभयो –‘कर्णालीलाई सडक संजालमा जोड्ने नीति कांग्रेसले लिएको हो । पटक पटक कम्युनिष्ट नेतृत्वमा पनि विगतमा सरकार बनेका छन् । पूर्वप्रधानमन्त्रीहरुको लामो लाम कम्युनिष्ट पार्टीमा छ तर ती कम्युनिष्ट सरकारले के गरे अहिले सम्म । उनीहरु खोक्रा नारा दिएर जनता झुक्याउने काम मात्रै गर्दै आएका छन् ।’
प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै पौडेलले उखान टुक्काले देशको विकास सम्भव नभएको बताए । ‘हाम्रो उद्देश्य भनेको गाँउमा विकास पुर्याएर गाँउमा नै रोजगारी र आम्दानी सिर्जना गर्ने हो,’ उनले भने, ‘उखान टुक्का र हाँस्य व्यग्य गरेर मात्र विकास सम्भव छैन ।’
साथै पौडेलले कर्णाली प्रदेशको विकासका लागि कृषि, ऊर्जा र पर्यटन महत्त्वपूर्ण हुने बताए । पार्टी पराजित भएपछि सुदृढीकरण अभियान कर्णालीबाटै शुरु गर्नुपर्छ भन्ने लागेकाले आफू कर्णाली आएको उनको भनाइ थियो ।