
काठमाडौं, २ जेठ - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता जारी छ ।
पार्टी एकता प्रक्रिया निष्कर्षमा पुग्न नसकिरहेका बेला ओली र प्रचण्ड छलफलमा जुटेका हुन् । छलफल एकअर्काबीच विश्वासको वातावरण बनाउनेमा केन्द्रित रहेको स्रोतले जानकारी दियो ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्वीट, सरकार सञ्चालनमा गरेको एकलौटी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि प्रचण्ड ओलीप्रति सशंकित छन् ।
आजको वार्ताले दुई नेताबीच विश्वासको वातावरण बनाएर एकताको मिति तय गर्ने सम्भावना रहेको बताइएको छ ।
यही जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअगावै पार्टी एकता गर्ने कि भन्ने विषयमा पनि दुवै पार्टीमा आन्तरिक छलफल भइरहेको स्रोतको दाबी छ ।