
काठमाडौं, ३ जेठ–मुलुकका दुईवटा ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीवार(आज) पार्टी एकता हुँदैछ । दुई पार्टीले आज संयुक्त रुपमा नयाँ पार्टी दर्ता गर्दैछन् ।
विक्रम संवत २००६ साल वैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको केही समयमै राणा शासनको अन्त्य भयो ।
कम्युनिष्ट पार्टीको स्थापनाको केही वर्षपछि नै टुट फुटको शृङ्खला शुरु भयो । २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा वामपन्थी घटकहरुबीच संयुक्त मोर्चा बन्यो ।
पञ्चायत विरुद्धको संघर्षका लागि संयुक्त वाम मोर्चामा नेकपा (माले), नेकपा (माक्र्सवादी), नेपाल मजदुर किसान पार्टी, नेकपा (वर्मा), नेकपा (अमात्य) र नेकपा (मानन्धर) समूहबीच संयुक्त वाममोर्चा बन्यो ।
२०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनमा वाम मोर्चाले महत्त्वपूर्ण भूमिका खेल्यो । वाममोर्चाका माध्यमबाट कम्युनिस्ट पार्टीहरूबीच विकास भएको सौहार्दताले पार्टी एकताका निम्ति पनि वस्तुगत आधार तयार ग¥यो ।
वाममोर्चामा भएको सहकार्यका कारणले नेकपा (माले) र माक्र्सवादी पार्टी बीच २०४७ साल चैतमा ऐतिहासिक पार्टी एकता सम्पन्न भई नेकपा (एमाले) को गठन भयो ।
मदन भण्डारीले नेतृत्व गरेको माले र मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादीबीच एकता भएर बनेको एमाले २०५१ सालमा भएको मध्यावधी चुनावमा ठूलो पार्टी बनेको थियो । पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा मनमोहनले ९ महिना सरकारको नेतृत्व गरेका थिए । नौ महिने शासन कालमा एमालेले शुरु गरेको ‘आफ्नो गाउँ आफै बनाऔं’ तथा बृद्धबृद्धाका लागि भत्ता दिने निर्णय गरेको थियो ।
नेकपा (एमाले) को गठन पश्चात् नेकपा (अमात्य) समूह पार्टीमा एकीकृत भएको छ । त्यसै गरी नेकपा (माओवादी), नेकपा (मसाल), नेकपा (चौम), नेकपा (मानन्धर), नेकपा (वर्मा) र नेपाल मजदुर किसान पार्टीबाट थुप्रै नेता र कार्यकर्ताहरू एमालेमा समावेश भएका थिए ।
स्थापनाको २७ वर्षपछि एमाले आजदेखि इतिहास बन्दैछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेर नयाँ पार्टी बन्दैछ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने उनीहरुको तयारी छ ।