
काठमाडौं, ३ जेठ – अमेरिकाको ओक्लाहोमामा रहेकी एक आमाले आफ्नी जेठी छोरीलाई बञ्चरोले ७० चोटि हिर्काएपछि घरमा आगो लगाएर त्यहाँबाट अरू तीन छोरी लिएर भागेको खबर छ ।
ताहीरा अहमद नामक ती महिलालाई तुलसा शहरमा मंगलवार दिउँसो पक्राउ गरिएको छ ।
उनले आफ्नी ११ वर्षीया छोरीलाई सोमवार राति आक्रमण गरेको अनि आठ वर्षीया छोरीलाई लिएर भागेको आरोप अधिकारीहरूले लगाएका छन् ।
अहमदविरुद्ध आगजनी, बाल दुर्व्यवहार, आक्रमण तथा ज्यान मार्ने उद्योगको मुद्दा लगाइएको छ । उनलाई जमानतरहित कारावास सजाय सुनाइएको छ ।
एघार वर्षीया छोरीको स्थिति अझै गम्भीर छ ।
पक्राउ पुर्जीमा भएको बयानअनुसार, अहमदले अनुसन्धान अधिकारीहरूलाई आफू बालबालिकाहरूबाट चिन्तित रहेको र उनीहरूले पढ्दै आफूलाई हेरिरहेको मन नपरेको बताइन् । अहमदले आफ्ना तीन छोरीलाई बाँधेर कपडाले
मुखमा कोचेको अनि जेठीलाई आक्रमण गरेको प्रहरीको भनाइ छ । बालिकाहरूले के पढिरहेका थिए भन्ने खुलेको छैन ।
आठ वर्षीयाले नौ वर्षीया दिदीलाई भाग्न मद्दत गरेको अनि बीचकी छोरी चाहिँ छिमेकीकहाँ मद्दत लिन पुगेको प्रहरीले बतायो । अधिकारीहरू त्यहाँ आइपुग्दा ११ वर्षीया बालिका जलिरहेको घरमा थिइन् र अहमद तथा कान्छी छोरी
गायब थिए ।
अहमदले आफ्ना तीन छोरीलाई बाँधिरहँदा जेठी छोरीले प्रतिकार गरेकी थिइन् जसले गर्दा अहमदले उनलाई ७० चोटि हिर्काइन् । छोरीको टाउकोमा पनि उनले धेरैचोटि हिर्काएको अनि घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।
जेठी छोरीको कम्मरमा बञ्चरोले हानेका अनेकौं घाउ अनि गोडा, घाँटी, हात र अनुहारमा पनि धेरै चोटहरू देखिएको प्रहरी रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा उल्लेख भएबमोजिम अहमदले जेठी छोरी मरोस् भनेर घरमा आगो लगाएकी थिइन् ।
एजेन्सी