
काठमाडौं, ४ जेठ -नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण भएको छ। एमाले र माओवादी केन्द्र विघटन गरी नेपाल कम्युनिस्ट पार्टी घोषणा गरिएको हो। एमाले र माओवादी केन्द्रको बिहीबार बसेको बैठकले दुवै पार्टी विघटन गरी कम्युनिस्ट पार्टी गठन गर्ने घोषणा गरेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पार्टीको संयुक्त बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभएको थियो। कार्यक्रममा नवगठित कम्युनिस्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाउनुभएको थियो।
गत असोज १७ गते दुवै पार्टी संयुक्तरूपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका थिए। साझा घोषणापत्र लिएर चुनाव लडेका एमाले र माओवादी केन्द्रले गत फागुन ७ गते पार्टी एकताको सात बुँदे आधारपत्रमा हस्ताक्षर गरेका थिए। दुवै पार्टीले वैचारिक, सैद्धान्तिक कार्यदल गठन गरेर गृहकार्य गरेका थिए। वैचारिक र सैद्धान्तिक विषयमा एमालेले अगाडि सार्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको २१औं शताब्दीको जनवादलाई आगामी महाधिवेशनसम्म बहस र छलफल गर्दै जाने सहमति भएको छ, नेपाल समाचारपत्रमा खबर छ ।