०२ असार २०८३, मंगलबार

मानव तस्करीको ‘ट्रान्जिट पोइन्ट’ गड्डाचौकी, नयाँ–नयाँ ‘ट्रिक’ प्रयोग

जेठ ४, २०७५
मानव तस्करीको ‘ट्रान्जिट पोइन्ट’ गड्डाचौकी, नयाँ–नयाँ ‘ट्रिक’ प्रयोग

महेन्द्रनगर, ४ जेठ– पछिल्लो समय कञ्चनपुर जिल्लाको गड्डाचौकी नाका मानव तस्करीको प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बनेको बताइएको छ ।

चेलीबेटी बेचविखन रोकथामको क्षेत्रमा क्रियाशिल नेपाल र भारतका अधिकारीहरुले अन्य नाका भन्दा पनि गड्डाचौकी नाका भएर विभिन्न रुट परिवर्तन गरी मानव तस्करी भैरहेको बताएका छन् । नियन्त्रणमा खुला सीमा नाका प्रमुख बाधक रहेको पनि अधिकारीहरुको भनाइ थियो ।

माइती नेपालले कञ्चनपुरमा आयोजना गरेको सीमा क्षेत्रमा मानव बेचबिखन विषयक संयुक्त छलफलमा सहभागी दुवै देशका अधिकारीले पूर्वदेखि पश्चिमसम्म जताततै खुल्लै खुला सीमा नाका भएका कारण मानव तस्करी रोक्न चुनौती रहेको बताए । तस्करले नयाँ–नयाँ ट्रिक प्रयोग गर्दै मानव तस्करीका रुट परिर्वतन गरेर मानव ओसारपोसारमा संलग्न रहेकाले पहिचान गर्न मुस्किल परेको उनीहरुले बताए । 

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले पश्चिम नेपालको गड्डाचौकी नाका मानव तस्करीको ट्रान्जिट प्वाईटको रुपमा विकसित हुदै गएको बताए । ‘खुला नाका छ, हेर्दा हेर्दै कुन नाकाबाट पार गर्दछ, थाहै हुँदैन्, ‘उनले भनिन्–‘सम्बन्धित स्थानबाट ल्याएका महिलालाई अनेकन प्रपञ्च रचेर तस्करी गर्दछन् ।’ गड्डाचौकी नाका भएर विभिन्न आश्वासन, प्रलोभनमा पारेर मध्यपूर्व, पूर्वी एशिया, सुडान, खाडी राष्ट्र तथा यूरोप, अफ्रिकी देशमा पु¥याउने गरेको उनले बताइन् । 

‘झूठो विवाहको बहानामा चीन, कोरिया हुँदै विश्वमा नै आन्तरिक सीमापार र समुन्द्रपार हुदै दिन दुई गुणा रात चौगुनाको रुपमा बुद्धि हुदै गईरहेको छ’, उनले भनिन्–‘जसलाई रोक्न सबै पक्ष चनाखो हुनुपर्छ ।’ उनले बेचबिखनको मुख्य उद्देश्य यौन शोषण, बेश्यावृत्ति रहेको बताइन् । जबरजस्ती, धोका, छलकपट, झुक्यानमा पारेर, जालसाँझ गरेर, बेहोस पारी, अपहरण गरेर, जोरजुलुममा पारेर, शक्तिको दुरुपयोग भईरहेको विषय चित्रण समेत गरिन् ।

माइती नेपालका कार्यकारी निर्देशक विश्व खडकाले मानव बेचबिखनका घटना न्यूनिकरण गर्नका लागि दुवै देशका अधिकारीवीच संयुक्त छलफल गरिएको बताए । उनले मानव बेचबिखनका मुद्दा विषय कार्यपत्र पस्तुत गर्दै उद्धार गर्ने कानूनी व्यवस्था नभएका कारण मानव बेचबिखनमा चुनौती रहेको औल्याए ।

२५ वर्षमा ३६०४५ को उद्धार

माइती नेपालले स्थापनाको २५ बर्षसम्ममा ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकालाई उद्दार गरिएको बताए । १८ हजार ५५ लाई कानूनी उपचार, १० हजार ६ सय ६५ जना घरेलु हिंसापीडितको पुर्नमिलन गराइएको छ ।

भारतका मानव अधिकारकर्मी तेजसिह भण्डारीले दुवै देशका नागरिक स्तरबाटै बेचबिखन बिरुद्धका काम रोकथाम गर्नुपर्ने बताए । लामो समयदेखि नेपालको माईती नेपाल संग समन्वय गरेर भारतीय अधिकारकर्मीले समेत रोकथामका काम गरेको उनको भनाइ छ । 

भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख धिरेन्द्र सिह गुन्ज्यालले मानव बेचबिखन अन्र्तराष्ट्रिय समस्या रहेको बताए । ‘यो जघन्य अपराध हो’, उनले भने–‘यसमा संलग्न कसैलाई पनि छुट दिनु हुँदैन् ।’ 

उनले उद्धार गर्ने, नियन्त्रण गर्ने र पुर्नस्थापना गर्ने छुट्टाछुट्टै व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए । मानव बेचबिखन गम्भीर अपराध भएकाले यसलाई निरुत्साहित गर्न अन्तरर्राष्ट्रिय जगत जागरुक हुनुपर्ने उनको भनाई थियो । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले मानव बेचबिखन बिरुद्ध अभियानकै रुपमा सरोकारवाला सक्रिय हुनुपर्नेमा जोड दिए । ‘मानव बेचबिखनको काम निरुत्साहित पार्नुपर्छ’, उनले भने–‘मानव तस्करीमा संलग्न कसैलाई पनि छुट दिनुहुदैन् ।‘ प्रशासनका क्षेत्रबाट मानव बेचबिखन रोकथामका कार्य अघि बढाउने समेत उनले प्रतिबद्धता जाहेर गरे । 

वेचबिखन रोक्न महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने ; मन्त्री चौधरी

प्रदेश नं. ७ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले मानव बेचबिखन रोक्न प्रदेश सरकारले कार्य योजना बनाएर अघि बढिरहेको बताइन् । ‘मुलुकमा थुप्रै परिर्वतन भए, तर महिलामाथि हुने हिंसा अझै रोकिएका छैनन्’, उनले भनिन्–‘मानव बेचबिखन बिरुद्ध प्रदेश सरकारी कडा रुपमा प्रस्तुत हुन्छ ।’ बेचबिखन रोक्न विपन्न समुदायका महिलालाई आत्म निर्भर बनाउनुपर्नेमा उनले जोड दिइन् ।

नेपाल–भारतका सरोकारवाला अधिकारी महिला बेचबखिन एकमत भएका छन् । बेचबिखन बिरुद्धमा दुवै देशका सरकारी तथा गैर सरकारी अधिकारी, स्थानीय एक भएर शसक्त रुपमा जुट्नु पर्नेमा छलफल समेत गरेका थिए । 
नेपालको संविधान २०७२ को धारा २९ शोषण बिरुद्धको हक अन्तर्गत उपधारा (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भन्ने स्पष्ट व्यवस्था छ । 

त्यस्तै मानव बेचबिखन सम्बन्धी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ लगायत अन्य धेरै कानुन संगै स्थानीय तहलाई अझ बढी जिम्मेवारी दिएपनि मानव बेचबिखन नरोकिएको भन्दै दुवै देशका सहभागिले चिन्ता व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्