२२ जेठ २०८३, शुक्रबार

‘मिस्टर आईपीएल’माथि धावा बोल्ने ‘स्टाइलिस’ सन्दीप

जेठ ५, २०७५
‘मिस्टर आईपीएल’माथि धावा बोल्ने ‘स्टाइलिस’ सन्दीप

जनकपुरधाम, ५ जेठ–भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो खेल खेलेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव छाड्न सफल भएका छन् । आईपीएल इतिहासकै सफलमध्येको एक टीम चेन्नाइ सुपर किङ्स र त्यसका विश्व चर्चित ब्याट्सम्यानविरुद्ध उत्कृष्ठ बलिङ गर्दै सन्दीपले प्रसंशा बटुलेका हुन् ।

उनले आफ्नो ४ ओभरको स्पेलमा १० बल डट राख्दै २१ रन खर्चिएर ‘मिस्टर आईपीएल’ भनिने अनुभवी खेलाडी सुरेश रैनालाई पेबेलियनको बाटो देखाएका दिए ।

दिल्लीका कप्तान श्रेयस अय्यरले उनलाई दोस्रो ओभर (पावर प्ले)मै बलिङ थमाए । सन्दीप बलिङका लागि आउँदा विश्वकै उत्कृष्टमध्येका एक अलराउण्डर (विश्वकप विजेता) शेन वाटसन र यस सिजन आईपीएलमा अरेन्ज क्याप (सर्वाधिक रन जोड्ने) का प्रवल दाबेदार अम्बाती रायडू क्रिजमा थिए । वाटसन र रायडू दुवैले जारी सिजनको आईपीयलमा शतक प्रहार गरिसकेका छन् ।

आफ्नो स्पेलको पहिलो ओभरमा ६ वटै बल वाटसनसामु फालेका सन्दीपले मात्र २ रन खर्चिए । सन्दीपको गुग्ली र लेग स्पिन पढ्न वाटसनलाई निकै मुस्किल पर्‍यो ।

त्यसपछि ११औं ओभरमा सन्दीपले आफ्नो दोस्रो ओभर फाल्ने मौका पाए । त्यतिबेला उनका सामु भारतीय क्रिकेट टीमका विश्वविजेता कप्तान महेन्द्रसिंह धोनी र आईपीएल इतिहासकै सर्वाधिक खेल खेल्ने र सफल खेलाडी सुरेश रैना थिए, जसलाई स्टार स्पोर्टस्का हिन्दी कमेन्टेटरहरूले पटक–पटक मिस्टर आईपीएलको उपमा दिएर सम्बोधन गरिरहेका थिए ।

दुई निकै अनुभवी र विस्फोटक ब्याट्सम्यानसामु सन्दीपको बलिङ निकै उत्कृष्ट रह्यो । रनिङ विटविन द विकेटमा पनि आईपीएलकै सर्वाधिक अब्बल यो जोडीले प्रत्येक बलमा १–१ रन लिन सफल भए पनि खुलेर खेल्न सकेनन् । यसले सन्दीपको मनोबल बढाउने काम गर्‍यो ।

त्यसपछि सन्दीपको बलिङ गर्ने पालो आयो १४औं ओभरमा । त्यतिबेला पनि रैना र धोनी नै क्रिजमा थिए । क्रिजमा केही समय बिताइसकेका यी दुई ब्याट्सम्यान कुनै पनि बेला आक्रामक बन्न सक्ने खतरा थियो । स्ट्राइकमा थिए रैना । लामिछानेले पहिलो बल नै गुग्ली फाले । रैनाले त्यसलाई मिड विकेटको दिशामा प्रहार गरे । तर बलले बाउन्ड्री पार गर्न सकेन, विजय शंकरले क्याच गरेपछि रैना पेबेलिन फर्किन बाध्य भए ।

रैनालाई आउट गरेपछि कमेन्ट्री गरिरहेका भारतका पूर्वक्रिकेटर आकाश चोपडाले लामिछानेको प्रसंशा मात्रै गरेनन्, नेपाली क्रिकेटको भविष्य यस्तै प्रतिभावान खेलाडीका कारण उज्वल रहेको बताए । कमेन्टेटरहरू भन्दै थिए, ‘मैले मिस्टर आईपीएल रैनालाई आउट गरेँ भन्ने कुरा धेरै पछिसम्म पनि यीनले गर्वसाथ सुनाउन सक्नेछन् ।’ त्यसक्रममा उनीहरूले नेपाली कप्तान पारस खड्काको पनि नाम लिए ।

रैनालाई आउट गरेपछि क्रिजमा आएका साम विलिङ्स र पहिलेदेखि नै क्रिजमा रहेका धोनीलाई सन्दीपले दबाबमा राखिरहे । तेस्रो अभोरमा उनले जम्मा ३ रन खर्चिए । एकपटक त विलिङ बोल्ड हुनबाट बालबाल बचेका थिए ।

आफ्नो स्पेलको अन्तिम ओभर फाल्ने मौका सन्दीपले १६औं ओभरमा पाए । यो ओभरको पहिलो बलमै रवीन्द्र जडेजाले स्टेप आउट गर्दै छक्का प्रहार गरे । त्यसपछि दोस्रो बलमा मिस फिल्डका कारण २ रन गगो । बाँकी ३ बलमा धोनी र जडेजाले पालैपालो १–१ रन लिए । अन्तिम बलमा धोनीले सम्मान दिंदै कुनै पनि रन लिएनन् ।

दिल्लीको जितमा महत्त्वपूर्ण भूमिका निर्बाह गरेका लामिछानेलाई स्टाइलिस प्लेयर अफ दि म्याचको अवार्ड दिइयो । यससँगै सन्दीपले १ लाख भारु पुरस्कार पनि पाए । छोटो बाउण्ड्रीका कारण १९० भन्दा बढी रन पनि डिफेन्ड गर्न गाह्रो हुने कोटला मैदानमा सन्दीप सहित दिल्लीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि १६३ रन डिफेण्ड गर्दै ३४ रनको विजय सम्भव भयो ।

हेर्नुहोस्, भिडियो :

प्रशंसै प्रशंसा

हुन त सन्दीपले आफ्नो प्रतिभाव विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैंग्लोरविरुद्ध नै देखाइसकेका थिए । बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभर २५ रन खर्चिएर १ विकेट लिएका थिए । डेब्यु खेलमै पार्थिब पटेललाई आउट गरेर विश्वमा आफ्नो प्रतिभा देखाउन सफल भएपछि भारतका पूर्वकप्तान कपिल देव (जसले विश्व कप जिताएका थिए) ले पनि प्रशंसा गर्दै भनेका थिए, ‘दिल्लीले लामिछानेलाई यसअघि किन खेलाएन ? यति प्रतिभावान खेलाडी हुँदाहुँदै किन नखेलाएको होला भन्ने सोचेर हैरान भएको छु ।’

अमित मिश्राको साथ

अस्ट्रेलियन टीमका पूर्वकप्तान रिक्की पोन्टिङको प्रशिक्षणमा खेलिरहेको दिल्लीमा सन्दीपले अनुभवी बलरहरूको साथ पनि पाइरहेका छन् । भारतका उत्कृष्ट लेग स्पिनर अमित मिश्राले सन्दीपलाई टेम्परमेन्ट कसरी कायम राख्नुपर्छ भन्दै सम्झाइरहेका थिए ।

खेलपछि मिश्राले भने, ‘को खेलाडी खेलिरहेको छ, तिम्रोसामु कस्ता खेलाडी छन् भन्ने कुरा नहेरेर नेटमा जसरी बल फ्यालिरहेका थियौ, ठीक त्यसैगरी बल फाल भन्दै मैले लामिछानेलाई सम्झाइरहेको थिएँ । डट बल फाल्ने प्रयास गर, विकेट लिनेतर्फ गयौ भने ब्याट्सम्यानले ठूलो सट पनि हान्न सक्छन्, धेरै नसोच, आफ्नो स्वभाविक खेल खेल भन्दै सम्झाएँ ।’

तपाईंले पनि लामिछानेबाट केही सिक्नुभयो कि भन्ने भारतीय पूर्वबलर आरपी सिंहको प्रश्नमा मिश्राले आफू पनि सन्दीपको प्रदर्शनबाट अत्यन्तै प्रभावित भइ उसले सिधा बल कसरी फाल्दो रहेछ भन्ने कुरा सिक्न प्रयास गरिरहेको जवाफ दिए ।

आफ्नो टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि स्टाइलिस प्लेयर घोषित सन्दीपले आफूले सकेसम्म राम्रो गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । विकेट हल्का स्किडी (चिप्लो खालको) थियो भन्दै उनले सबै खेलाडीको योगदानबाट जित सम्भव भएको बताए ।

पहिले ब्याटिङ गर्दै दिल्लीले जम्मा १६२ रन जोडेको थियो । डिफेन्ड गर्न असम्भव प्रायः मानिएको रन डिफेण्ड गरेर सन्दीप सहितका बलरले दिल्लीको जीत सम्भव बनाए ।

लामिछानेको प्रदर्शन हेरेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा उनको चर्चा हुन थालेको छ । हुन त २९ वैशाखमा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सन्दीपको नाम लिँदै नेपाल आईपीएलसँग पनि जोडिएको बताएका थिए । मोदीले नाम लिएकै दिन सन्दीपले डेब्यु गर्ने मौका पाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले मात्र एक्सपोजर पाएका छैनन्, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको समेत चर्चा भइरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको नेपाली क्रिकेट टीमका अन्य खेलाडीले समेत आईपीएलमा मौका पाउनसक्ने गरी ढोका सन्दीपले खोलिदिएका छन् ।

यस्ता अन्तर्राष्ट्रिय लिगहरूमा खेलेर अनुभव प्राप्त गर्ने मौका जति बढी खेलाडीले पाउनेछन्, त्यति नै नेपाली क्रिकेट पनि अगाडि बढ्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्