
विराटनगर, ५ जेठ- विराटनगर १६ रानी मिल्स् एरिया बर्माटोलमा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ बर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरहरुले मिलको रेखदेख गर्दै आएका कृष्ण थापालाई कालोमोसो दलेका छन् ।
२३ वर्ष अघि काम गरेको पारिश्रमिक कुर्दै क्वाटरमा बस्दै आएका मजदुरलाई हटाउन खोजेको भन्दै आक्रोशित मजदुरहरुले थापालाई नालाको हिलो र कालोमोसो छ्यापि दिएका हुन् ।
श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल बन्द हुनु अगाडीदेखि नै मिलको क्वाटरमा मजदुरहरु बस्दै आएका थिए । अहिले मिल बन्द भएको करिब २३ वर्ष भन्दा धेरै भइसक्यो । मजदुरहरु तलव नै नपाई मिलको क्वाटरम रेखदेख गर्दै आएका छन् । बन्द भएको मिलको जग्गा अहिले गायत्री डेभ्लोपरर्स कम्पनीले किनेको छ ।
गायत्री डेभ्लोपरर्स कम्पनीका केही प्रतिनिधी र उद्योगको रेखदेख गर्ने थापाको नेतृत्वमा शनिबार विहान आएको टोलीले मजदुरहरु बस्दै आएको जग्गा नाप्न थालेपछि क्वाटरमा बस्दै आएका मजदुरले थापालाई दलाली भन्दै नालाको कालो हिलो अनुहारमा छ्यापीदिएका हुन् ।
श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितिलाई कुनै जानकारी नदिई शनिबार विहान एक्कासी क्वाटरमा प्रवेश गरेपछि आक्रोशित मजदुरले जग्गा नाप्न आएको टोली माथी नै जाई लागेका थिए ।
गायत्री डेभ्लोपरर्सले क्वाटरको कम्पाउण्ड खाली गर्न भनेर यस अघि नै ३५ दिने सुचना जारी गरेको थियो । विना तलव मिलको क्वाटरमा बस्दै आएको र अहिले अचानक हटाउन लाग्दा विचल्लीमा पर्ने भएकाले आफूहरुलाई उचित क्षतिपुर्ती दिनुपर्ने भन्दै मजदुरहरु आन्दोलनमा छन् ।
नेपालकै पुरानो टेक्सटायल उद्योग गणपति कटन उद्योग बन्द भएपछि धेरैको बिल्लीवाठ भएको छ ।
कतिपयले पाउनु पर्ने पारिश्रमिक भुक्तानी नपाउँदै ज्यान गुमाएका छन् भने कतिपयको दिनचर्या कष्टकर बन्दै गएको छ ।
करिब दुई सयको हाराहारीमा रहेका मजदुर तथा कर्मचारीले २३ वर्षदेखि अझै तलव पाउन सकेका छैनन् ।
जग्गा लिएको कम्पनीले कतिपयलाई तलव दिएको छ भने क्वाटरमा बस्ने अधिकासले पैसा लिन मानिरहेका छैनन् । मजदुरहरु पैसाको सट्टा आफूहरुलाई उचित बसोबास गर्ने आवासगृहको माग गरिहेका छन् । अहिले क्वाटर लगायत मिलको कम्पनीको खाली जमिनमा ६२ घर परिवार बसोबास गर्दै आएका छन् । करिब १ विगा ६ कठ्ठा २ धुर जमिन रहेको स्थानमा अहिले पुराना ढल्न लागेको क्वाटर छन् भने आधा दर्जनले त्यही क्वाटरको खाली जमिनमा घर बनाएर बसेका छन् ।
मिलको क्वाटर बाहिर पनि पक्का घर बनाईएको छ भने कतिपय त्यही जमिनलाई प्रयोग गर्दै आएका छन् । नातामा पुर्ब राजा ज्ञानेन्द्रका मामा पर्ने सुशील समशेर जवराले उद्योग भारतिय नागरिकसँगको सहकार्यमा संचालन गर्दै आएको मिल २०५२ सालमा बन्द भएको थियो । बैंकको ऋण तिर्न नसकेर २०५२ सालमा ओरालो लागेको उद्योगले कर्मचारीको समेत तलव दिन सकेको थिएन ।
त्यस यता अहिलेसम्म काम गरेको तलव नपाएर १८ जनाले ज्यान गुमाई सकेका छन् । पारिश्रमिकको पर्खाईमा रहेका श्रमिक, मजदुर तथा कर्मचारीहरुले मर्ने बेलामा समेत पाउनु पर्ने रकम नपाईकनै धेरैले ज्यान नै गुमाईसकेका छन् ।