काठमाडौं,२७ मंसिर– जन्मदिनको अवसरमा हामी आफ्नो आफन्त र साथीलाई घरमा निम्ता गर्छौं । तर एक बर्थ डे पार्टी जसमा १३ लाख मानिसले सहभागिता जनाउँदै छन् । उक्त बर्थ डे पार्टी निम्तोको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।
मानिसहरुले उनको बर्थ डे पार्टीको निम्तो स्वीकारेका छन् । आउने २६ डिसेम्बरमा जन्मदिनको पार्टीमा सहभागिता हुने निम्तालुहरु पनि उत्साहित छन् ।
छोरीको १५ औं जन्मदिनको तयारी
यस खास बर्थडे पार्टी मेक्सिकोमा हुन लागेको छ । मेक्सिकोमा बस्ने आमाबाबुले आफ्नो छोरी रुबी इवारा गार्सियाको १५ जन्मदिनको अवसरमा १३ लाख मानिसलाई निम्तो गरेका हुन् ।
रुबीका पिताले फेसबुकमा निम्तोको भिडियो अपलोड गरेर सबैलाई बर्थडे पार्टीको निम्तो दिएका हुन् ।
भिडियोको मार्फत निमन्त्रण
रुबीका पिताले फेसबुकमा भिडियो अपलोड गरेको केही घण्टामै भाइरल भएको थियो । अहिलेसम्म उनको भिडियो देखेर १३ लाख मानिसले उनको निमन्त्रणा स्वीकारेका छन् । र,उक्त बर्थडे पार्टीमा सहभागी हुने समेत प्रतिबद्धता जनाएका छन् ।
भिडियोमा रुबीको आमाबाबु समेत रहेका छन् । भिडियोमा रुबीका पिताले पार्टीमा सहभागी हुन र संगीतको आनन्द लिन आग्रह गरेका छन् । उनले आफ्नो छोरीको जन्मदिनका अवसरमा घोडा दौड प्रतियोगिता पनि राखेका छन् । उनले बर्थ डे पार्टीलाई लिएर निकै उत्साहित रहेको पनि बताएका छन् । रुबीका आमा अनेल्डाले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र मेक्सिकोका राष्ट्रपति एनरिक पेनालाई पनि बर्थ डे पार्टीमा सहभागी हुन आग्रह गरेकी छिन् । एजेन्सी