काठमाडौं, ६ जेठ – भारतको कर्नाटक राज्यमा शनिवार येदियुरप्पाको नेतृत्वमा भारतीय जनता पार्टी सरकार ५५ घन्टामै राजीनामा दिन बाध्य भयो ।
यसो हुनमा कांग्रेसका तीन नेता अभिषेक मनु सिंघवी, गुलाम नबी आजाद र अशोक गहलोतको हात रहेको चर्चा छ । सत्तामा आउनका लागि आक्रामक कदम चालेको भाजपालाई यी तीनले रोके अनि चुनावमा पछारिएपनि कांग्रेसलाई सत्तामा ल्याइछाडे ।
कर्नाटकको विधानसभा चुनाव परिणाम आउन थाल्दै गर्दा कांग्रेस नेतृत्वले गुलाम नबी आजाद र अशोक गहलोतलाई दिल्लीबाट त्यहाँ पठायो । यी नेताहरूलाई त्रिशंकु विधानसभा भयो भने राजनीति सम्हाल्नू भनी स्पष्ट रूपमा निर्देशन दिइएको थियो । हंग पार्लियामेन्टको संकेत पाउनेबित्तिकै यी दुवै नेताले समय नगुमाइकनै जनता दल सेक्युलरका कुमारास्वामीलाई मुख्यमन्त्रीको पद अफर गर्दै गठबन्धन सरकार बनाउन प्रयास गरे ।
भाजपा बहुमतभन्दा जम्मा सात सीट पछाडि थियो । अनि उसले कांग्रेस र जेडीएसका विधायकहरूलाई आफूतिर ल्याउन खाज्यो । त्यसपछि कांग्रेसका दुई नेताले राज्यपाल र भाजपाविरुद्ध मर्डर अफ डेमोक्रेसी अभियान चलाएर जनमत आफूतिर पार्न सफल भए । उनीहरूले भाजपामाथि लगातार दबाब राखे ।
कर्नाटकका कांग्रेस नेता डीके शिवकुमारले ईगलटन रिजोर्टमा कांग्रेसका विधायकहरूलाई सुरक्षित राखिरहे ।
सर्वोच्च अदालतको हस्तक्षेपका कारण येदियुरप्पा सरकारलाई बहुमत सिद्ध गर्नका लागि कम समय प्राप्त भयो र अदालतले पूरै प्रक्रियामा पारदर्शिता हुनुपर्ने बतायो । अदालतको यो निर्णयका लागि कांग्रेस नेता तथा अधिवक्ता अभिषेक मनु सिंघवीको प्रमुख भूमिका रह्यो । उनले नै कर्नाटकका राज्यपालको निर्णयविरुद्ध आधा रातमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याए ।
एजेन्सी