
काठमाडौं, ६ जेठ – क्युबाको राजधानी हवानामा शनिवार भएको विमान दुर्घटनाका विषयमा एक पाइलटले कारण बताएका छन् । आफूले प्लेनको घटिया अवस्थाका बारेमा गुनासो गरेको तर आफ्नो कुरालाई ध्यान नदिइएको उनले बताए ।
मार्को अरेलियो हर्नान्देज नामक ती पाइलटले मिलेनिया पत्रिकासँग कुरा गर्दै विमान भाडामा दिने मेक्सिकोको कम्पनी ग्लोबल एयरले विमानको रेखदेख राम्रोसँग नगरेको र यो विमानलाई चिलीमा उड्न प्रतिबन्ध समेत लगाइसकिएको बताए । यसले भेनेजुएलामा राडार विना नै उडान भरेको थियो ।
आफूले सन् २००५ देखि २०१३ सम्म ग्लोबल एयरका सबै तीन बोइङ विमान उडाएको बताए । तीमध्ये ३९ वर्ष पुरानो विमान नै शनिवार दुर्घटनाग्रस्त भएको उनको भनाइ छ ।
उक्त दुर्घटनामा सयभन्दा बढी मानिसको ज्यान गएको छ । विमानको अवशेष हवानाभन्दा २० किलोमिटर पर दक्षिणमा बोयरोस कृषि क्षेत्रमा फेला परेको थियो ।
एजेन्सी