
काठमाडौं, ७ जेठ – इरान आणविक सम्झौता तोडेपछि अमेरिका संसारका लागि भिलेन त बन्यो नै, युरोपका देशका लागि पनि आँखाको धूलो बन्न पुग्यो ।
यो सम्झौता तोडेर अमेरिकाले पश्चिम एसियाको स्थिति बिगारेको जर्मन चान्सलर अंगेला मर्कल बताउँछिन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा उनले यो कुरा बताएकी हुन् । यी दुई नेताबीच सोचीमा पश्चिम एसियाका अन्य
देशका अलावा आणविक सम्झौतासँग विन्दुमा वार्ता भयो ।
मर्कलले यो सम्झौता इरानको आणविक कार्यक्रमलाई पारदर्शी बनाउनका लागि प्रभावकारी रहेको बताइन् । युरोपका अन्य देश झैं जर्मनी पनि यो सम्झौताबाट बाहिर निस्कन चाहँदैन ।
जर्मनीको सरकारी टीभी जेडडीएफले गरेको एक सर्वेक्षणमा लगभग ८२ प्रतिशत जर्मनहरू अमेरिका विश्वासयोग्य साझेदार नभएको धारणा राख्छन् । त्यही सर्वेक्षणमा ३६ प्रतिशत मानिसले रुसलाई जर्मनीको बलियो सहयोगी बताएका
छन् । अनि ४३ प्रतिशत मानिसले चीन नयाँ साझेदार हुन सक्ने बताएका छन् ।
मर्कलअघि युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कले पनि अमेरिका आणविक सम्झौताबाट हटेकोमा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि कडा आक्रमण गरेका थिए ।
एजेन्सी