२४ असार २०८३, बुधबार

एपेक्स बैंक घोटाला प्रकरण- सुर्खेतबाट तीन पक्राउ

जेठ ७, २०७५
एपेक्स बैंक घोटाला प्रकरण- सुर्खेतबाट तीन पक्राउ

सुर्खेत, ७ जेठ– जिल्ला प्रहरी कार्यालय  सुर्खेतले साविकको एपेक्स बैंक घोटाला प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ । 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक) मा हाल कार्यरत साविकको एपेक्स बैंकका तीन जना कर्मचारी पक्राउ परेका हुन् । 

तत्कालिन एपेक्स बैंक शाखा कार्यालय सुर्खेतमा कार्यरत ३ जना कर्मचारीहरुलाई आर्थिक वित्तिय अनुशासन उलंघन गरी बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

राष्ट्र बैंकको छानबिनबाट दोषी ठहर भएपछि एनसीसी बैंकका कयौं कर्मचारीलाईए पक्राउ गर्न सीआईबीमार्फत जिल्ला प्रहरी कार्यालयहरुलाई आग्रह गरिएको थियो ।

एपेक्स बैंक शाखा कार्यालय सुर्खेतका तत्कालिन प्रवन्धक रामप्रसाद अधिकारी, कर्जा शाखाका कर्मचारी खगेन्द्र प्रसाद कँडेल र योगेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

सिआईबीको आग्रहमा एक दर्जन बढीलाई पक्राउ गर्न सुर्खेतमा पत्र आएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको हुँदा नाम, ठेगाना खुलाउन नसकिने प्रहरी स्रोतले बताएको छ ।

उनीहरूले बैंकबाट अनियमित तबरले कर्जा प्रवाह गरी बैंक घोटाला गरेका हुन् । एपेक्स डेभलपमेन्ट बैंक अहिले अस्तित्वमा छैन । नेपाल क्रेडिट एण्ड कर्मश बैंक (एनसीसी) सँग मर्जर भएपछि यो बैंक अस्तित्वमा नरहेको हो । प्रहरीका अनुसार मर्जरको फाइदा उठाउँदैै सञ्चालक, कर्मचारी र एजेन्टको मिलेमतोमा बैंकको रकम घोटला गरिएको हो ।

प्रहरीका अनुसार उनीहरुले कृतिम ऋणी खडा गरि ऋण प्रवाह गरेको खुलेको छ । भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर पनि ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले ऋण प्रवाह गर्दा साँक्षी समेत नराखेको खुलेको छ । उनीहरुले धितो निरीक्षण कर्जा निर्णय गर्दा जग्गा किनबेच, रोक्का, कर्जा तमसुक र कर्जा प्रवाह एकै दिन गरेको खुलेको छ ।

एनसीसी र एपेक्सबीच ११ मंसिर ०७२ मा मर्जरमा जाने सहमति भएको थियो । तर, मर्जर भने त्यसको बर्षदिन पछि मात्रै हुन सक्यो । बीचमा रहेको यही बर्ष दिनलाई उपयोग गरी सञ्चालक र कर्मचारीले बैंकको रकम घोटला गरेका हुन् । सिआईबीका डिएसपी श्याम ओलियाले मर्जरको फाइदा उठाउँदै एपेक्सका सञ्चालक तथा कर्मचारीले बैंक घोटला गरेको बताए । उनले भने, ‘यीनीहरुबीच ११ मंसिर ०७२ मा बैंक मर्जर गर्ने सहमति भयो । तर, बर्ष दिनसम्म बैंक मर्जर गरिएन । यहीबीच कर्मचारी र सञ्चालक मिले । त्यसपछि अनियमित रुपमा ऋण प्रवाह गरे ।’

सिआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले यो अहिलेसम्मकै ठूलो बैंक घोटाला रहेको बताए । उनले भने, ‘एपेक्स बैंकले विभिन्न ठाउँमा शाखा कार्यालय पनि खोलेको देखियो । ती शाखा कार्यालयबाट पनि घोटाला भएको पाइएको छ । सबै गरी डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम घोटाला भएको देखिन्छ । यो बैकमार्फत गरिएको यो अहिलेसम्मकै ठुलो घोटला हो ।’

एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) का चार दर्जन अधिकृत यस अघि केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको नियन्त्रणमा लिएको थियो । बैंकमा डेढ अर्व रुपैयाँ बराबरको घोटाला गरेको आरोपमा एनसीसीका विभिन्न बैंकमा कार्यरत सीइओसहितका चार दर्जन लोन अधिकृतहरुलाई सीआईबीले नियन्त्रणमा लिएको हो ।

यसअघि एनसीसी बैंकमा मर्ज भएको नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा कार्यरत रहेका उनीहरुलाई पक्राउ परेका हुन् । उनीहरुले बैंकमो एक अर्व ३० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । कर्जा दिने क्रममा तोकिए भन्दा दोब्बर बढी रकम निकासा गरी उनीहरुले घोटाला गरेको आरोपमा सीआइबीले पक्राउ गरेको हो । प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ अभियुक्त पक्राउ गरेको थियो । बैकिङ कसुरअन्तर्गत भएको यो अहिलेसम्मकै ठूलो घोटाला भएको प्रहरीको दावि छ ।

पक्राउ पर्ने तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु प्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठ हुन् । त्यस्तै पक्राउ पर्नेमा बैंक कर्मचारी पनि थिए । प्रहरीका अनुसार बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धकहरू विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर नेउपाने र कर्जा अधिकृत मोहन खरेल रहेका छन् । प्रहरीका अनुसार उनीहरूले बैंकको केन्द्रीय कार्यालयसहित शाखा कार्यालयबाट गरी कुल १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ४६ रुपैयाँ घोटाला गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्